
३० साउन काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले आयात प्रतिष्ठान गर्न जोड दिनुभएको छ । व्यापार घाटा डरलाग्दो किसिमले बढिरहेका बेला अर्थमन्त्री शर्माले उत्पादन बढाएर व्यापार घाटा कम गर्ने उद्घोष गर्नुभएको हो । नेपाल उद्योग वाणिज्य संघ काठमाडौँले आज भर्चुअल रुपमा आयोजना गरेको दोस्रो वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले उत्पादन बृद्धि गरेर आयात प्रतिस्थापन गर्नेतिर लाग्नुपर्ने बताउनु भएको छ । निर्यातमुखी अर्थतन्त्र निर्माणको लागि उत्पादन बृद्धि गर्नु अपरिहार्य रहेको उहाँको भनाइ छ ।
नेपाल राष्ट्र बैंकको ११ महिनाको तथ्यांक अनुसार व्यापार घाटा १२ खर्ब ६२ अर्ब छ । जेठसम्म १३ खर्ब ८३ अर्ब ३६ करोडको आयात भएको छ । तर उक्त समयमा १ खर्ब २१ खर्ब २५ करोडको मात्रै निर्यात भएको छ ।
अर्थमन्त्री शर्माले कोभिड १९ संकटको बेला निजी क्षेत्रले राहत महशुस गर्ने गरी सरकारले पाइला चाल्ने पनि बताउनु भएको छ । अनौपचारिक अर्थतन्त्रलाई औपचारिक अर्थतन्त्रको दायरामा ल्याउन समेत निजी क्षेत्रको सहयोग रहने उहाँले बताउनु भयो । वैदेशिक लगानीको लागि उपयुक्त वातावरण निर्माण गर्ने र राष्ट्रको समग्र पूँजी निर्माण गर्नतिर लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मौद्रिक नीतिले कोभिडपछिको पुनोरुत्थान तथा साना एवं मझौला उद्यमको विस्तारमा विशेष ध्यान दिएको बताउनु भयो ।
सरकारको राहत योजना विकसित मुलुकको जस्तो सिधै नगद दिने खालको नभए पनि सुधारमा सहयोगी रहेको उहाँको भनाइ छ । महासंघले १० वर्षमा १ सय ५० अर्ब अमेरिकी डलर बराबरको पूँजी निर्मााण हुने अपेक्षाका साथ ‘राष्ट्रिय आर्थिक रुपान्तरण २०३० (नेट २०३०)’ नामक भिजन पेपर तयार पारेको बताउनु भएको छ ।