
२९ साउन काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो प्रशंसा गर्दै बनाइएका भिडियो रोक्न निर्देशन दिएको बताउनु भएको छ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा प्रधानमन्त्रीको प्रशंसा गर्दै सार्वजनिक भएका भिडियोको विषयमा प्रश्न उठाएपछि प्रधानमन्त्री देउवाले भिडियो बनाउनेलाई रोक्न निर्देशन दिएको बताउनु भएको हो ।
‘सत्तामा पुगेपछि विभिन्न खालका कुराहरु चर्चामा आउँछन् । आई लभ यू केपी बा भन्दै ओलीलाई सिंहदरबारबाट बालकोटको बार्दलीमा पु¥याइयो,’ बैठकमा देउवाको ध्यानाकर्षण गराउँदै गुरुङले भने, ‘अहिले तपाईं प्रधानमन्त्री भएपछि मलाई शेरबहादुर देउवा मन पर्छ भनेर बनाइएका भिडियोहरु देखें, यस्ता खालका प्रचारबाट तपाईं सजग रहनुस् ।’
नेता गुरुङले बोल्दै गर्दा प्रधानमन्त्री देउवाले उनलाई रोक्दै भन्नुभयो, ‘होइन, होइन मैले यो भिडियो बनाउनेलाई रोक्न निर्देशन दिइसकेको छु । अब यो भिडियो आउँदैन ।’
देउवा प्रधानमन्त्री भएलगत्तै उहाँको सचिवालयले ‘मलाई देउवा मन पर्छ’ भन्ने भिडियोहरु सार्वजनिक गर्दै आएको छ । भिडियोलाई लिएर सामाजिक सञ्जालदेखि कांग्रेसभित्रै टिकाटिप्पणी भइरहेका छन् । यस्तै केन्द्रीय सदस्य गुरुङले खोप वितरणलाई व्यवस्थित गर्न प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराउनु भयो ।
नेता गुरुङले भ्रष्टाचारका ठूला काण्डको छानबिन गर्न आग्रह गर्नुभएको छ । उहाँले प्रधानमन्त्री भएलगत्तै बालुवाटारमा भेटेर आफूले भ्रष्टाचारको छानबिन गर्न आग्रह गरेको सम्झाउँदै कांग्रेसलाई भ्रष्टाचार विरोधी अभियानको नेतृत्व गराउन ध्यानाकर्षण गराउनु भएको छ ।
कांग्रेस केन्द्रीय समिति बैठक देउवाको निजी निवास बुढानीलकण्ठमा जारी छ । बिहीबारदेखि शुरु भएको केन्द्रीय समिति बैठकमा क्रियाशील सदस्यता छानबिन समितिको प्रतिवेदन, समायोजन सम्बन्धी प्रतिवेदन र निर्वाचन निर्देशिकामाथि नेताहरुले आफ्नो धारणा राखिरहेका छन् ।