
श्रावण २८, काठमाडौँ । तालिबान समूहले रणनीतिक मानिएको अफगान सहर घज्नीमाथि कब्जा गरेको छ । आज तालिबानले राजधानी काबुलबाट १५० किलोमिटरको दूरीमा रहेको घज्नी सहरमा कब्जा गरेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।
योसँगै तालिबानले ३४मध्ये १० वटा प्रान्तीय राजधानीमा कब्जा गरिसकेको छ । घज्नीको प्रान्तीय परिषद् प्रमुख नासिर अहमद फकिरीलाई उद्धृत गर्दै एएफपीले तालिबानले सहरका प्रमुख भागमा कब्जा गरिसकेको छ । तालिबानले गर्भनर कार्यालय, प्रहरी मुख्यालय र जेल कब्जा गरेको छ । सहरका केही भागमा अहिले पनि संघर्ष जारी रहेको बताइएको छ । उनीहरुले जेलमा रहेका बन्दीहरुलाई समेत छुटाएका छन् । तालिबानले समेत सामाजिक सञ्जालमा वक्तव्य जारी गरेर सहरमाथि कब्जा गरेको जानकारी दिएको छ ।
घज्नी गुमाएपछि तालिबानले काबुलमाथि कब्जा गर्ने रणनीति अझ बलियो हुने बताइएको छ । तालिबानले ९० दिनभित्र काबुलमाथि पकड जमाउन सक्ने सम्भावना रहेको अमेरिकी गुप्तचर अधिकारीहरुले बताइसकेका छन् । तालिबानले आक्रमण बढाउँदै गएपछि अफगानिस्तानले सेना प्रमुख पनि परिवर्तन गरेको छ ।
गत जुनमा अफगानिस्तानको सेना प्रमुखमा जनरल वली मोहम्मद अहमदजाईलाई नियुक्त गरिएको थियो । अफगानी राष्ट्रपति असरफ घानीले अहमदजाईको ठाउँमा जनरल हिबातुल्लाह अलिजाईलाई सेना प्रमुखका रुपमा नियुक्त गरेका छन् । त्यसअघि राष्ट्रपति घानी सुरक्षाफौजको मनोबल बढाउन भन्दै तालिबानको गढ मानिएको मजार–ए–शरिफको भ्रमण गरेका थिए ।
२० वर्ष लामो सैन्य अपरेसनपछि अमेरिकी नेतृत्वको विदेशी सेना फिर्ता भएपछि अफगानिस्तानमा तालिबानले आक्रमण बढाउँदै आएको छ । संयुक्त राष्ट्र संघका अनुसार गत महिना मात्रै तालिबान र सुरक्षा फौजबीचको झडपमा १ हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भएको बताएको छ । त्यस्तै युनिसेफले जारी हिंसाको मारमा बालबालिका बढी रहेको बताएको छ ।