काठमाण्डौ – विश्वविद्यालयका विभिन्न संकाय र तहमा परीक्षा दिने विद्यार्थीलाई आजैदेखि खोप दिन सुरु गरिने सरकारले जनाएको छ ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका खोप शाखा प्रमुख डाक्टर झलक गौतमकाअनुसार झण्डै ६० हजार विद्यार्थीलाई खोप दिने गरी तयारी भएको छ । सबै स्वास्थ्य निर्देशनालय, प्रदेश तथा जिल्ला स्वास्थ्य कार्यालयहरुलाई खोपको व्यवस्था गर्न भनिएको र काठमाण्डौमा आजदेखि विद्यार्थीलाई खोप लगाउन सुरु गरिने जानकारी दिनुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको हिजो बसेको सचिवस्तरीय बैठकले त्रिभुवन विश्वविद्यालय लगायत अरु विश्व विद्यालयका परीक्षामा सहभागी हुने विद्यार्थीहरुलाई कोरोना विरुद्धको खोप दिने निर्णय गरेको थियो । खोप लगाउने विद्यार्थीले अनिवार्य रुपमा प्रवेश पत्र साथमा लैजानु पर्नेछ ।

नेपालमा अहिले कोभिसिल्ड, भेरोसेल र जोनसन एन्ड जोनसनको खोप उपयोगमा आएको छ । अहिलेसम्म ४५ लाख ७० हजार ५ सय ५३ जनाले खोपको पहिलो मात्रा लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय