
२६ साउन, काठमाडौं । अफगानिस्तानमा पछिल्लो तीन दिनमा कम्तीमा २७ बालबालिका युद्धमा परी मारिएको संयुक्त राष्ट्रसंघले बताएको छ । राष्ट्रसंघको बालबालिका नियोग युनिसेफले पछिल्लो समय अफगानिस्तानको युद्धमा बालबालिकामाथिको हिंसा बढेको बताएको छ । युनिसेफका अनुसार पछिल्लो तीन दिनमा १३६ बालबालिकाहरु युद्धको कारण घाइते भएका छन् ।
युनिसेफ अफगानिस्तानका सम्नता मोर्टले पछिल्लो केही सातायता अफगानिस्तान बालबालिकाको लागि विश्वको सबैभन्दा खराब स्थानको रुपमा देखिएको बताएकी छिन् । युनिसेफले युद्धरत दुवै पक्षलाई बालबालिकाको संरक्षणको लागि आग्रह गरेको छ । तालिबानले पछिल्लो समय मुलुकका प्रमुख सहरलाई आफ्नो नियन्त्रणमा लिएको छ । गत शुक्रबारयता तालिबानले अफगानिस्तानका ६ ओटा प्रान्तीय राजधानीमा आफ्नो कब्जा जमाएको हो ।
तालिबानले युद्धविरामको लागि अन्तर्राष्ट्रिय समुदायले गरेको अपील अस्वीकार गर्दै आएको छ । पछिल्लो एक महिनामा अफगानिस्तानमा एक हजारभन्दा धेरै आम नागरिकको मृत्यु भइसकेको छ ।