
२५ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) बाट महन्थ ठाकुरको अध्यक्ष पद खोसिएको छ । ठाकुर सहित १६ जनालाई केन्द्रीय कार्यकारिणी समितिबाट हटाएसँगै ठाकुरको अध्यक्ष पदपनि खोसिएको हो । जसपाको दुई समूहको विवादमा निर्वाचन आयोगले ११ साउनमा उपेन्द्र यदव पक्षलाई आधिकारिकता दिएको थियो । यादव पक्षले हालै ३५ सदस्यीय कार्यकारिणी समितिको नाम निर्वाचन आयोगमा पठाएको छ ।
आधिकारिकता विवादमा आयोगले हेडकाउन्ट गर्दा यादव पक्षमा उभिएका ३४ जना र तटस्थ बसेका रेशम चौधरीको नाममात्र केन्द्रीय कार्यकारिणी समितिमा राखिएको छ । आयोगको आजबसेको बैठकले जसपाले पठाएको नयाँ कार्यकारिणी समितिको विवरण अध्यावधिक गर्ने निर्णय गरेको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभएको छ । ‘जसपाको ५१ सदस्यीय कार्यकारिणी समिति थियो, अब ३५ सदस्यीय भएको छ’ उहाँले भन्नुभयो ।
ठाकुर पक्षमा उभिएका १६ जनालाई कार्यकारिणी समितिबाट हटाइएको नेता गंगानारायण श्रेष्ठले बताउनु भएको छ । एक नेताका अनुसार पार्टीको विधानमा दुई अध्यक्ष रहने व्यवस्था छ । महन्थ ठाकुरलाई अध्यक्षबाट हटाएपछि के गर्ने भन्नेबारे छलफल भइसकेको छैन ।
कार्यकारिणी समितिबाट हटाइएका १६ जनालाई पार्टीको साधारण सदस्यबाट भने हटाइएको छैन । जसपाले भदौ १ र २ गते केन्द्रीय समितिको बैठक बोलाइएको छ । यो बैठकमा भदौदेखि मंसिरसम्म चार महिने संगठन सुदृढिकरण अभियान चलाउने प्रस्ताव समेत पेश हुनेछ । पार्टीको विधानमा केन्द्रीय समिति ८०० सदस्यीय हुने भनिएको भएपनि ७७९ जना मात्र थिए । उनीहरुमध्ये ५०० भन्दा बढीको पार्टीको मुल धारमा आएको जसपाका नेताहरुले बताएका छन् ।