
bbc- तालिबानले देशव्यापी रूपमा आफ्नो नियन्त्रण बढाउने क्रममा अफगानिस्तानका थप तीनवटा क्षेत्रीय राजधानीहरूमा कब्जा जमाएको छ।
अफगानिस्तानमा जारी हिंसालाई लिएर अन्तर्राष्ट्रिय चिन्ता बढिरहेका बेला तालिबानले लडाइँ कायम राखेको हो।उसले युद्धविरामको आह्वानलाई अस्वीकार गरेको छ।तालिबानले आइतवार देशको उत्तरतर्फको प्रमुख सहर कुन्दुजलाई आफ्नो नियन्त्रणमा लिएको थियो।
तालिबानले गत शुक्रवारयता पाँचवटा क्षेत्रीय राजधानीहरूमा आफ्नो नियन्त्रण कायम गरिसकेको छ।त्यसमध्ये तालिबानका लागि कुन्दुज यो वर्षको सबैभन्दा महत्त्वपूर्ण उपलब्धि हो।उक्त सहर राजधानी काबुलसहित देशका अन्य भागहरूमा जोडिएको छ।
बीस वर्ष लामो सैन्य अभियानपश्चात् अन्तर्राष्ट्रिय फौजले अफगानिस्तान छाड्न थालेपछि त्यहाँ हिंसा व्यापक रूपमा बढेको हो।तालिबानले पछिल्ला साताहरूमा त्यहाँ तीव्र गतिमा आफ्नो नियन्त्रण विस्तार गरिरहेको छ।
देशका बाहिरी क्षेत्रमा व्यापक नियन्त्रणपछि उसले अहिले मुख्य सहरहरूलाई लक्षित गर्दै हमला गरिरहेको छ।उत्तरी क्षेत्रका तीनवटा मुख्य सहरहरू आइतवार केही घण्टाको बीचमै तालिबानको नियन्त्रणमा गएका थिए।अफगान सरकारले चाहिँ तालिबानको नियन्त्रमा गएका क्षेत्रहरूलाई पुनस् फिर्ता ल्याउन सरकारी फौजले कारबाही जारी राखेको जनाएको छ। यस वर्ष अफगानिस्तानबाट हजारौँ नागरिकहरू विस्थापित भएका छन्।
अमेरिकाले तालिबान रहेका क्षेत्रमा हवाई आक्रमणलाई तीव्र बनाएको छ। ती हमलाहरूमा कैयौँ तालिबानहरू मारिएको अफगान सेनाको भनाइ छ। काबुलस्थित अरिकी दूतावासले तालिबानका गतिविधिको निन्दा गरेको छ र तालिबानले जबरजस्ती कब्जा गरे त्यो स्वीकार्य नहुने बताएको छ।