अफगानिस्तानमा निरन्तर आफ्नो प्रभाव बढाउँदै लगेको तालिबानले प्रान्तीय राजधानीमा पनि आफ्नो नियन्त्रण कायम गरेको छ ।
दक्षिण पश्चिमी प्रान्त निमरोजको राजधानी जारान्ज तालिबानले कब्जा गरेको हो ।

तालिबानको नियन्त्रणमा गएको यो पहिलो प्रान्तीय राजधानी हो । ग्रामीण क्षेत्रमा प्रभाव रहेको तालिबानले शहरी क्षेत्रलाई पनि निशाना बनाइरहेको छ । सोही क्रममा शुक्रबार तालिबानले जारान्ज नियन्त्रणमा लिएको हो ।यो वर्ष ९सन् २०२१० को सुरुदेखि तालिबानले सुरु गरेको कब्जा अभियान अन्तर्गत उनीहरुले विजय प्राप्त गरेको पहिलो प्रान्तीय राजधानी बनेको छ ।

अफगानिस्तानका लागि संयुक्त राष्ट्रसंघीय दूत डेब्रा लायन्सले अफगानिस्तानमा जारी युद्ध नयाँ घातक र बिनासकारी चरणमा प्रवेश गरेको शुक्रबार बताएकी छन् । अफगानिस्तान गम्भीर विपद र विनास तर्फ उन्मुख भएको भन्दै उनले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले शहरी क्षेत्रमा भएका आक्रमण तत्काल रोक्नका लागि वक्तव्य जारी गर्नु पर्नेमा जोड दिएकी छन् ।

तालिबानले इरानसँगको सीमा क्षेत्र नजिक रहेको जारान्ज कब्जा गरेको दाबी ट्वीटर मार्फत गरेको हो । तालिबानका कमाण्डरले समाचार संस्था रोयटर्ससँग भनेका छन्, ‘यो त सुरुवात मात्रै हो, हेर्दैजानुस् अरु प्रान्तीय राजधानीहरु चाँडै नै हाम्रो कब्जामा आउने छन् ।’

सामाजिक सञ्जालमा पोस्ट गरिएका तस्बिरहरुमा सरकारी भवनहरुबाट सामान लुट्दै गरेको देखिएको छ । तालिबान लडाकुहरुले स्थानीय विमानस्थल तथा शहरको प्रवेशद्वारमा तस्बिर खिचाएको देखिएको छ ।

सन् २०१६ पछि पहिलोपटक तालिबानले प्रान्तीय राजधानीमा नियन्त्रण कायम गरेको हो । सन् २०१६ मा तालिबानले केही समयका लागि उत्तरी क्षेत्रको कुन्दुज शहरमा नियन्त्रण बनाएका थिए । अधिकांश अमेरिकी सैनिक फिर्ता भइसके पनि अमेरिकाले अफगान सैनिकको सहयोगमा हवाई आक्रमण भने जारी राखेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय