काठमाडौं –  रोजगारीका लागि १ हजारकोे कोटा भए पनि हजारौंको संख्यामा नेपाली कामदार इजरायल जान इच्छुक भएका छन्।

वैदेशिक रोजगारीका क्रममा जापान, कोरियामा लामो समय काम गरिसकेका युवा पनि इजरायल जान उत्साहित भएका छन्। इजराइल जाने लाग्ने खर्च हवाई भाडा,  जोहो गरेर पनि नेपाली कामदार जान तयार भएका छन्। उता गएर राम्रो आम्दानी हुने भएकाले धेरैको रुचि इजरायलमा परेको छ। केयरगिभरको रूपमा इजरायल जाने श्रमिकले वृद्धवृद्धा र बालबालिकाको रेखदेख गर्नुपर्छ।

केयरगिभर, नर्सिङ क्षेत्र, अस्पताल, नर्सिङ होम, दिवा सेवा केन्द्रलगायतका क्षेत्रमा नेपाली श्रमिक लैजान लागेको हो। वैदेशिक रोजगार विभागका इजरायल शाखा प्रमुख डम्बरबहादुर सुनुवारले इजरायल जानका लागि फारम भर्नेको भीड बढेको बताए। उनका अनुसार आइतबारसम्म १५ हजार जनाले अनलाइन फारम भरिसकेका छन्। विभागले साउन १२ गते सूचना जारी गरी २१ दिनभित्र फारम गर्न अनुरोध गरेको थियो। साउन मसान्तसम्म फारम भर्नेको संख्या उल्लेखनीय हुने देखिएको छ।

छनोट भएकाले ८० प्रतिशत भाषा परीक्षा र २० प्रतिशत अन्तरवार्ता पास गर्नुपर्छ। दुवै नम्बरमा बढी हुने युवाको सूची इजरायलको पीआईबीएलाई पठाइ त्यसको विवरण विभागको वेबसाइटमा राखिनेछ।

विभागले पठाएको सूचीका आधारमा पीआईबीएले अन्तिम उम्मेदवार छनोट गर्नेछ। अन्तिम छनोटमा परेका उम्मेदवारको करारनामामा हस्ताक्षर गरी इजरायलले विभागमा पठाउने छ। उताबाट आएको सूचीका आधारमा विभागले छनोटमा परेकालाई बोलाएर सम्झौता गराएर ५ दिनभित्र दूतावास पठाउनेछ।

दस जोड दुई पास गरेर तीन महिनाको केयरगिभर तालिम लिएका मात्रै प्रतिस्पर्धामा सामेल हुन पाउँछन्। दस जोड दुई पास गरी १५ महिने अनमी पढेकाले पनि इजरायल जान पाउनेछन्। इजरायल जान हिब्रु र अंग्रेजी भाषा जानेको हुनुपर्छ। ४।९ फिट र ४५ केजी भएको व्यक्ति मात्रै इजरायल जान पाउने व्यवस्था छ।

इजरायलमा न्यूनतम मासिक १५ सय डलर ९डेढ लाख नेपाली पारिश्रमिक पाइन्छ। इजरायल वैदेशिक रोजगारीका गन्तव्य मुलुकमध्ये आकर्षक मानिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय