
२० साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ प्रकाशले भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइनको तार काटिदिएकै कारण जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको बताउनु भएको छ ।
राष्ट्रियसभाको आज बसेको बैठकमा पूर्व परराष्ट्रमन्त्री समेत रहेका श्रेष्ठले प्रारम्भिक तथ्यहरुका आधारमा एसएसबीले नै घटना घटाएको निष्कर्षमा पुग्न सकिने बताउनु भएको हो । घटनामा संलग्न दोषीहरुलाई तत्काल कारबाही गर्नुका साथै हेपाहा प्रवृत्ति नदोहो¥याउनु पर्ने उहाँको माग छ ।
छानविन समिति बनाएर परिपक्व कूटनीतिद्वारा सम्वाद गर्ने र आवश्यक पर्दा अडान लिने सरकारको बाटो ठीकै भएको उहाँले बताउनु भएको छ । तर प्रतिवेदन ल्याउन ढिला गर्न नहुने भन्दै उहाँले प्रतिवेदन छिटो ल्याएर भारत सरकारसँग गम्भीर विरोध र आपत्ति प्रकट गर्ने, दोषीमाथि कारबाहीको माग गर्ने र पीडित परिवारलाई राहतका लागि तत्काल कदम चाल्नुपर्नेमा जोड दिएका छन् ।
पूर्व परराष्ट्रमन्त्री समेत रहेका श्रेष्ठले आफूहरुले अहिले पनि भारतसँग असल मैत्रपूर्ण सम्बन्ध कायम होस् भन्ने चाहेको बताउनु भएको छ । दुई देशबीच रहेका समस्या वार्ता र सम्वादको बाध्यमबाट हल गर्न चाहेको पनि उहाँले बताउनु भएको छ । साथै माओवादी केन्द्रका नेता श्रेष्ठले प्रतिनिधिसभा विघटन हुनुमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली मात्र जिम्मेवार नभएको बताउनु भएको छ । उहाँले एक वा अर्को रुपमा त्यस अगाडिका सरकार र नेताहरु पनि जिम्मेवार रहेको बताउनु भएको हो ।