
श्रावण १८, काठमाडौँ । बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा ठुलो क्षती भएको विवरण सार्वजनिक भएको छ । शुक्रबार राति बाढीसँगै आएको पहिरोले मेलम्चीमा खानेपानी आयोजनामा करिब २ अर्ब बराबरको क्षति भएको हो ।
प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिलाई आयोजनाका कार्यकारी निर्देशक रामकुमार श्रेष्ठले दिएको जानकारी अनुसार बाढी पहिरोका कारण मेलम्चीमा १ अर्ब ८८ करोड बराबरको क्षति भएको हो । हेडवर्क्सका पुरिएका संरचनाहरुमा भएको क्षति र अनुमानित लागत विवरण डेब्रिस सफा गरिसकेपछि मात्र यकिन गर्न सकिने उहाँले बताउनु भएको छ ।
मेलम्ची बजारदेखि हेडवर्क्स क्षेत्र अम्बाथानसम्मको २२ किमिमध्ये ८ किमि सडक पूर्ण रुपमा क्षति भएको, याङ्ग्रीतर्फ ५ किमि सडक क्षति भएको उहाँले जानकारी दिनुभएको छ । पहिरोसँगै आएको लेदोसहितको बाढीले ६ वटा पक्की पुल र अस्थायी कफरड्याम समेत बगाएको छ । पहिरोले आयोजनाको २१० किलोमिटर डाइभर्सन टनेल र अम्बाथान स्थित टनेल अडिट पोर्टमा लेदो भरिएको श्रेष्ठले बताउनु भयो ।
हेडवर्क्सको पक्की संरचनाहरु (पक्की बाँध, गेटहरु, जेनेरेटर घर र कन्ट्रोल हाउस) पुरिनुका साथै निर्माण सामाग्री र निर्माण उपकरणहरु र कन्ट्रयाक्टर लेबर क्याम्प समेत बगाएको छ । प्राविधिक निरिक्षणको लागि सुरुङको मुख्य गेट बन्द गरिएकोले मुख्य टनेलमा क्षति नपुगेको अनुमान मेलम्ची खानेपानी आयोजनाले गरेको छ ।
त्यस्तै बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयकी सचिव प्रमिलादेवी आचार्यले बाढीका कारण आयोजनामा कार्यरत ३ जनाको मृत्यु भएको र अझै ५ जना बेपत्ता रहेको जानकारी दिनुभएको छ । शुक्रबारको बाढी आउनुपूर्वको अवस्थासम्म आगामी माघसम्म काठमाडौं पानी ल्याउने गरी मर्मत गर्न सकिने अनुमान गरिए पनि अब भने त्यो सम्भव नभएको उहाँले बताउनु भयो । एसियाली विकास बैंकलाई पत्राचार गरी दीर्घकालीन अध्ययनका लागि अनुरोध गरिएको पनि उहाँले बताउनु भएको छ ।