
श्रावण १६- सरकारले कोरोना भाइरस संक्रमणविरुद्धको खोप आगामी असोजमसान्तसम्म एक करोड ८३ लाख ८२ हजार आठ सय ५० मात्रा ल्याउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। कृष्णप्रसाद पौडेलद्वारा जारी भएको विज्ञप्तिमा आगामी असोजमसान्तसम्म सरकारले चीन, जापान र भारतबाट कुल एक करोड ८३ लाख ८२ हजार आठ सय ५० खोप ल्याउने तयारी गरेको उल्लेख छ ।
मन्त्रालयले कोभ्याक्सबाट निःशुल्क २० प्रतिशत जनसंख्याको लागि प्राप्त हुने एक करोड १३ लाख मात्रा खोप पनि क्रमशः प्राप्त हुँदै जाने र चैत मसान्तसम्म सबै नेपालीलाई खोप दिलाउने योजना रहेको छ । मन्त्रालयले खोप आयात गर्न इच्छुक निजी क्षेत्रलाई पनि विश्व स्वास्थ्य संगठन र नेपालको नियामक निकाय औषधि व्यवस्था विभागबाट आकस्मिक प्रयोग अनुमति प्राप्त कुनै पनि खोपको उत्पादन मूल्य र आयात खर्चमा अधिकतम १० प्रतिशत मुनाफा लिएर खरिद गर्न दिइएको उनले जानकारी दिए ।
यस्तै कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि मन्त्रालयले अहिलेसम्म हाई डिपेन्डेन्सी युनिट एचडियू दुई हजार ७५ सरकारी र सात सय ७८ निजीमा थपिएको छ । यस्तै, एक हजार चार सय एचडियू थप्ने योजनामा रहेको मन्त्रालयले जनाएको छ । भेन्टिलेटर नौ सय चार रहेको र थप एक सय ८० थप्ने क्रममा रहेको छ । बालबालिकाका लागि एक सय ८० भेन्टिलेटरसहित दुई सय ५० सघन उपचार कक्ष आइसियू शय्या थप्ने क्रममा रहेको मन्त्रालयले जनाएको छ ।
सरकारले कुल जनसंख्याको ७२ प्रतिशत अर्थात् पहिलो प्राथमिकतामा रहेका दुई करोड १५ लाख र पछिल्लो समय १२ वर्षदेखि १८ वर्ष उमेर समूहका ४९ लाख गरी कुल दुई करोड ६५ लाखमा खोप लगाउने लक्ष्य लिएको छ । ती सबैलाई खोप लगाउनका लागि कुल पाँच करोड ३५ लाख मात्रा खोप आवश्यक हुनेछ ।