
१४ साउन, काठमाडौं । नेपालमै बनेको ’क्वान्टम’ रकेटको सफल परीक्षण भएको छ । नेपाली विद्यार्थीहरुले बनाएको ’क्वान्टम’ रकेटको परीक्षण सफल भएको छ । पटक–पटक असफल हुँदै आएपनि आजभने ५ औं पटकको प्रयास सफल भएको हो । राष्ट्रिय आविष्कार केन्द्रमार्फत् इन्जिनियरिङका विद्यार्थीहरुले बनाएको रकेटको ’सुपर सोनिक’ टेस्ट सफल भएको बताईएको छ ।
थानकोटस्थित नेपाली सेनाको फायरिङ रेन्जमा रकेट परीक्षण गरिएको हो । सुपर सोनिक यो रकेट प्रक्षेपणको क्रममा ८७८ मिटर प्रतिसेकेन्डको गतिमा उडेको थियो । हावामा ध्वनिको गति ३ सय ४३ मिटर प्रतिसकेन्ड हुन्छ । ६।१ फिट उचाइ रहेको रकेटको तौल ९ किलो छ । रकेटमा पोटासियम नाइट्रेट र टेबल सुगर सोलिड इन्धनको रुपमा प्रयोग गरिएको छ । यसमा १।२ केजी फ्यूल प्रयोग हुन्छ । क्वान्टमको प्रक्षेपणका क्रममा अधिकतम १८ सय न्यूटन इनर्जी दिएको थियो । उडानका लागि न्यूनतम ९ सय न्यूटन थ्रस्ट आवश्यक पर्ने मुख्य निर्माणकर्ता मोहन तामाङले बताएका छन् ।
प्रक्षेपणका क्रममा रकेट २।१ किलोमिटर माथि पुगेको थियो । उचाइमा पुगेको रकेट प्यारास्युटको मद्दतमा झारिएको थियो । फाइबर ग्लास प्रयोग गरेर निर्माण गरिएको रकेट कम खर्चमा तयार गरिएको हो । यसमा विभिन्न सेन्सरको प्रयोग गरिएको छ । रकेटका विभिन्न ’एस्पेक्ट’ पत्ता लगाउन सेन्सर प्रयोग गरिएको तामाङले बताए । उनका अनुसार नेपाललाई अन्तरिक्ष क्षेत्रमा पुर्याउने उद्देश्यले रकेट बनाइएको हो । रकेट निर्माणमा तामाङबाहेक इन्जिनियरिङ अध्ययन पूरा गरेका रामहरि चौधरी, शिवनारायण कुँवर, प्रदीप शर्मा, ईश्वर श्रेष्ठ, धनबहादुर घर्तीमगर र दीपेन्द्र बस्नेत छन् । निर्माणकर्ताहरु उज्जवल ढकाल, रमेश साउद र अमृत ढुंगाना भने इन्जिनियरिङ अध्ययन गरिरहेका छन् ।
उनीहरु काठमाडौं विश्वविद्यालय, थापाथली इन्जिनियरिङ क्याम्पस, काठमाडौं इन्जिनियरिङ कलेज, अक्सफोर्ड इन्जिनियरिङ कलेज र कलेज अफ इन्फरमेसन टेक्नोलोजी एन्ड इन्जिनियरिङमा पनि आबद्ध छन् । रकेटलाई थप विकासित गर्दै लैजाने योजना आफूहरुको रहेको तामाङ बताउँछन् । यसअघि नेपाली विद्यार्थीहरुले बनाएको गरुडा रकेट भने परीक्षण असफल भएको थियो । अमेरिकामा हुने प्रतिस्पर्धा लक्षित गरेर बनाइएको रकेटको विकास कोरोना भाइरसका कारण रोकिएको थियो ।