धनगढी । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका कैदीबन्दी र लुटिएका हतियारका कारण चुनाव नबिथोलिने बताएका छन् ।

गृह मन्त्रालयले मंगलबार धनगढीमा आयोजना गरेको सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री अर्यालले फरार कैदीबन्दी पक्राउ गर्ने र लुटिएका हतियार बरामद गर्ने क्रम जारी रहेको जानकारी गराए । उनले चुनावसम्म सबै नियन्त्रणमा लिइसक्ने दाबीसमेत गरे ।

हतियार र फरार कैदीबन्दीको विषयमा पटक-पटक कुरा उठ्ने गरेको बताउँदै अर्यालले उक्त विषयलाई अतिरिञ्जित बनाउन नहुने बताए ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका ४ हजार ५५२ कैदीबन्दी र बालबन्दी फिर्ता हुन बाँकी रहेको जानकारी उनले गराए ।

उनले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग सम्बन्धी जघन्य प्रकृतिका कसुरका फरारको संख्या भने कम रहेको दाबी गरे । फरार अवस्थामा रहेका कैदीबन्दीलाई पक्राउ गर्न विशेष रुपमा अभियान चलाइरहेको पनि उनले बताए ।

लुटिएका हतियारमध्ये अहिलेसम्म ७२७ थान बरामद गरेर फिर्ता गरिसकेको भन्दै उनले केही संख्यामा मात्र बाहिर रहेको उल्लेख गरे । मन्त्री अर्यालले सुरक्षा संवेदनशीलताका कारण लुटिएका हतियारको संख्याबारे भन्न नमिल्ने गरेको उल्लेख गरे ।

सुरक्षा गोष्ठीमा प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीले फरार कैदीबन्दी र लुटिएका हतियारका कारण भयरहित वातावरणमा चुनाव हुनेमा आशंका गरेका थिए । उनीहरुले गरेको आशंकाको जवाफ दिँदै गृहमन्त्री अर्यालले सोही कारण चुनाव बिथोल्न नदिने बताएका हुन् ।

सुरक्षा गोष्ठीमा राजनीतिक दलले शान्तिपूर्ण तरिकाले गर्ने कार्यक्रमहरुमा विभिन्न किसिमले अवरोध भइरहेको सन्दर्भमा समेत प्रश्न उठेको थियो । त्यसको जवाफमा मन्त्री अर्यालले सरकार राजनीतिक दललाई बिना बाधा, अवरोध कार्यक्रम तथा अन्य गतिविधि गर्न दिने विषयमा प्रतिबद्ध रहेको बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय