काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेमा समाहित हुने तयारीमा रहेका नेकपा एकीकृत समाजवादीका नेताहरूलाई आफूहरू स्वागत गर्न तयार रहेको बताएका छन् ।
उनले भनेका छन्– पार्टी अध्यक्ष, महासचिव लगायत हामी सबैले यहाँहरूलाई नेकपा एमालेमा समाहित हुन आह्वान गरिसकेका छौ । तपाईंहरुलाई स्वागत गर्न हामी तयार छौँ ।
जनताको बहुदलीय जनवादप्रतिको प्रतिबद्धता नै एकताको मुख्य आधार भएको उनले उल्लेख गरेका छन् । उनले भने– नीति र नेतृत्व स्वीकार गर्नु पर्ने सर्त पनि सुनियो । नीति र नेतृत्वलाई अस्वीकार गरेर सहकार्य कसरी हुन्छ र ? यो भनिरहनु पर्ने विषय नै होइन । जबज हाम्रो सिद्धान्त हो, नीति हो । तपाईँ हाम्रो साझा प्रयत्नले यसलाई थप परिष्कृत र समृद्ध बनाउने हो ।
भट्टराईले थप भनेका छन्–ुप्रतिस्पर्धाबाट छानिएको नेतृत्व हाम्रो एकताको आधार हो । पार्टीको ११ औ महाधिवेशनको मिति घोषित छ । महाधिवेशन पूर्व नीति र नेतृत्वको बहस गर्ने वैधानिक अभ्यास पाँचौँ महाधिवेशनबाटै स्थापित गरिएको छ । यो पार्टी जीवनको लोकतान्त्रीकरणको महत्त्वपूर्ण आयाम पनि हो । अमुक नेतालाई जिताऊनै पर्ने पूर्व सर्त स्वीकार गर्ने या नगर्ने यो यहाँहरूकै विवेकको विषय हो । तर एमालेमा समाहित हुनु कुनै सर्तभन्दा पनि माथिको महत्वको सवाल हो । एमालेमा तपाईँहरूको सहभागिताबाट कुन नेतालाई फाइदा हुन्छ या हुन्न ? कुन नेताले जित्छ या हार्छ ? यो गौण हो । हामी चाहन्छौ हाम्रो सहकार्यले नेपाल राष्ट्रले जित्नु पर्छ, नेपाली जानताले जित्नु पर्छ र नेकपा एमालेले जित्नु पर्छ । त्यसका खातिर हामी हजार पटक हार्न तयार छौ ।





