काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सरकारको वर्तमान कार्यकालमा आफू कुनै पनि शर्तमा सरकारमा नजाने दोहोर्याएका छन् । यो पाँच वर्षमा प्रधानमन्त्री नै पाए पनि नखाने उनको अडान छ ।

पार्टीको केन्द्रीय कार्यसमिति वैठक समापन पश्चात बोल्दै लिङदेनले यस्तो उद्घोष गरेका हुन् ।

उनले भने, ‘मैले पहिल्यै घोषणा गरिसकेको छु कि यो पाँच वर्ष म चाहिँ सरकारमा जान्न । साथीहरु जान सक्लान् तर म जान्न । पार्टीले निर्णय गर्यो भने जाने भन्ने ठाउँ पनि राख्दिन । म कुनै पनि हालतमा मन्त्री बन्दिनँ । प्रधानमन्त्री पाए त खाने होला भन्ने कुरा आउला । म यो पाँच वर्ष प्रधानमन्त्री नै पाए पनि खान्न । हुन त १४ सिट भएको दललाई प्रधानमन्त्रीको अवसर पनि नआउला । तर, कथंकदाचित त्यस्तो अवसर आयो भने पनि म हुन्न ।’

लिङदेनले अर्को चुनाव आफू गठवन्धनबिना लडेर जितेर देखाउने दाबी गरे । ‘झापा जिल्लाको मेरो निर्वाचन क्षेत्रमा म होस, अर्कोलाई उठाएर होस कुनै पार्टीसँग नमिलिकन चुनाव जितेर आउने छौं । यो रेकर्डमा रहोस् ।’ राप्रपाभित्र आफ्नो कुनै पनि पक्ष नरहेको स्पष्ट पारे ।

उनले भने, ‘पार्टीमा मेरो कुनै पक्ष छैन । अध्यक्षको कुनै पक्ष हुँदैन ।’ आफूले मनोनित गरेका व्यक्तिहरु ठीक नरहेको भन्ने असतुष्टि आएको सन्दर्भमा उनले पूर्वअध्यक्षज्यूहरुसँग पदाधिकारीहरुसँग छलफल गरेर सच्याउन सक्ने बताए ।

‘आवश्यक पर्यो भने मैले गरेको मनोनयनहरु फिर्ता लिएर देखाउँछु’, लिङ्देनले भने ।

चुनावको बेला पनि काठमाडौमा उपरखुट्टी लगाएर बस्नेहरुले पार्टी सकियो भनेर चिन्ता लिन नसुहाउने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय