काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कांग्रेस र एमाले सहभागी अहिलेको सरकार अप्राकृतिक भन्नेहरूले जनतालाई दिग्भ्रमित बनाउन खोजेको बताएका छन् । जनताबाट अस्वीकृत भएकाहरूले त्यस्तो भ्रम फैलाइरहेको उनको भनाइ छ ।

राष्ट्रिय युवा संघ नेपालको राष्ट्रिय भेलालाई शनिबार सम्बोधन गर्दै पोखरेलले लोकतन्त्रमा जनताले पत्याएका दलले शासन गर्ने कुरा प्राकृतिक भएको प्रष्ट पारे ।

कांग्रेस एमाले सधैँ भरिका लागि नमिलेको भन्दै उनले जनताको बिचमा जाने बेलामा दुवै दल एक्लाएक्लै निर्वाचनमा सहभागी हुने बताए ।

‘देश बनाउनको लागि धेरै राजनीतिक दल होइन ठूला र बलिया राजनीतिक दल आवश्यक छन्,’ उनले भने, ‘अब नेकपा एमाले र नेपाली कांग्रेस कसैको बैसाखी नटेकी निर्वाचनमा जान्छन् । त्यसपछि जनताले अस्वीकार गरेका दलले शासन गर्ने दिन सकिनेछ ।’

एमाले पार्टीको नीति एमालेको मात्र नीति नभएर देशको नीति बन्नुपर्ने बताएका पोखरेलले त्यसका लागि २०८४ मा एमालेको एकल बहुमतको सरकार हुनुपर्ने जिकिर गरे ।

देशलाई बलिया राजनीतिक दल, स्पष्ट राजनीतिक दृष्टिकोण र दूरदर्शी नेतृत्व आवश्यक रहेको भन्दै उनले त्यो क्षमता नेकपा एमाले र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मात्र रहेको दावी गरे ।

प्रधानमन्त्री ओली राष्ट्र निर्माण गर्ने व्यक्ति भएको चर्चा गर्दै उनले अहिले ओलीमाथि चौतर्फी हमला भइरहेको बताए । नराम्रो काम गरेकाले नभई नेपाललाई असफल बनाउन चाहनेहरू सक्रिय भएकाले एमाले र केपी ओलीमाथि हमला भइरहेको उनको भनाइ थियो ।

उनले समाजलाई अघि बढाउन समाजमा आशा जगाउनुपर्ने भन्दै प्रधानमन्त्री ओली आशाको संवाहक भएको जिकिर गरे।

राजनीतिमा युवा पुस्तालाई अवसर दिने पार्टी एमाले मात्र भएको बताउँदै उनले एमाले युवामा भरोसा गर्ने र युवालाई अवसर दिने पार्टी भएको बताए । ‘अबको युग युवाको युग हो, युवाको साथमा नेकपा एमाले छ,’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय