काठमाडौं । यू-१९ टी२० महिला विश्वकपको पहिलो खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको छ।

मलेसियामा भएको खेलमा नेपालले टस हारेर पहिले बंगलादेशविरुद्ध ब्याटिङ गरेको थियो। नेपालले दिएको ५३ रनको कमजोर लक्ष्य बंगलादेशले ५ विकेट गुमाएर १३।२ ओभरमै पुरा गर्‍यो।

बंगलादेशको जितमा सुमैया अख्तर सुवर्णले ४, फाहोमिदा चोयाले १, जुइरिया फिरदौसले २, सादिया इस्लामले १६ र सुमैया अख्तरले १२ रनको योगदान दिए। त्यस्तै नटआउट रहेकी अफिया आशिमा युगले ९ र जन्नतुल माउवाले ५ रन बनाइन्।

नेपालकी पुजा महतो, रिया शर्मा, सीमाना केसी र रचना धौधरीले समान एक-एक विकेट लिए।

त्यसअघि ब्याटिङ गरेको नेपाल ५२ रनमा अलआउट भएको थियो। कुल १८.२ ओभरसम्म मात्रै खेलेका नेपालका खेलाडीहरु साना प्रविन र सीमाना केसी बाहेक कसैलै पनि दोहोरो अंकमा रन बनाउन सकेनन्।

३० रन जोड्दा नेपालका आधा खेलाडी पेभिलियन फर्किसकेका थिए। ओपनर सावित्री धामी १, कप्तान पुजा महतो २, सोनी पाख्रिन र किरन कुँवरले १ रन मात्रै बनाए।

साना प्रविनले १९ रन जोडिन् भने सीमाना केसीले १० रन बनाइन्। त्यस्तै अलिशाकुमारी यादवले ४ रन, तिर्सना विश्वकर्मा ३, अनु कठायत ०, रचना चौधरी ३ र रिया शर्माले ५ रन मात्रै बनाउन सके। नेपालमा ६ खेलाडी रनआउटको शिकार हुँदै बाहिरिएका थिए।

विश्वकपमा छनोट भएपछि गत महिना एसीसी यू-१९ एसिया कपमा पाकिस्तानलाई पराजित गर्दै नेपालले ऐतिहासिक जित हात पारेको थियो।

विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ। यो समूहमा नेपालसँगै बंगलादेश, अस्ट्रेलिया र स्कटल्यान्ड छन्। सुपर-६ मा पुग्नका लागि नेपालले कम्तिमा एक टोलीलाई पराजित गर्नुपर्छ।

प्रत्येक समूहबाट समान तीनरतीन टोली सुपर ६ मा पुग्नेछन्। सुपर ६ मा दुई समूह हुनेछन्।

दुवै समूहका शीर्ष दुई दुई टोलीले सेमिफाइनल खेल्नेछन्। नेपालले माघ ७ गते स्कटल्यान्डसँग र माघ ९ गते अस्ट्रेलियासँग खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय