
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपाली कांग्रेसले गठबन्धनभित्र धोका दिन थालेको आशंका व्यक्त गरेका छन् । कैलारी गाउँपालिकाको हसुलिया बजारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले गठबन्धन दलको सहमति विपरीत कांग्रेसले उम्मेदवारी दिन लगाएर धोका दिएको आशंका व्यक्त गरेका छन् ।
‘नेपाली कांग्रेसको एक जना स्थानीय नेतासँग पनि मेरो कुरा भयो’, उनले भने, ’म र प्रधानमन्त्री शेरबहादुर देउवा सँगै आएका छौँ ।उहाँसँग कुरा गरेर कांग्रेसले जसरी उम्मेदवारी दिएको छ, खारेज नहुने हो भने हामी एक्लै चुनाव लड्नुपर्दछ । हाम्रा उम्मेदवारलाई विजय गराउन अपिल गर्दछु । हाम्रा लागि बेइमानी र षड्यन्त्र स्वीकार्य छैन ।’
प्रचण्डले अझै गठबन्धन क्लियर नभएको बताउँदै गठबन्धनको मर्मअनुसार उम्मेदवारी दिएका र प्राविधिक कारण स्वतन्त्र उम्मेदवारी दिन पुगेका पार्टीका सबै उम्मेदवारलाई अत्यधिक मतले विजयी गराउन आग्रह गरे । प्रतिगमनका विरुद्ध गठबन्धन गरे पनि त्यसको अर्थ सबै झुक्नैपर्छ भन्ने नरहेको समेत उनले बताए ।