
चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुरमा चुनाव जित्न कुनै अप्ठ्यारो नरहेको दाबी गरेका छन् ।
आज भरतपुरमा हुन लागेको चुनावी सभालाई सम्बोधन गर्न चितवन आइपुगेका अध्यक्ष प्रचण्डले गठबन्धन आसन्न स्थानीय चुनावको लागि धेरै अगाडि बढिसकेकाले अब भरतपुरमा चुनाव जित्न कुनै अप्ठ्यारो नभएको दाबी गरेका हुन् ।
भरतपुरको मेयरमा स्वतन्त्र उम्मेदवार दिएका जगन्नाथ पौडेललाई इङ्गित गर्दै उम्मेदवारी उठ्ने स्वतन्त्रता हरेक नेपालीलाई भएको समेत जिकिर गरेका छन् ।
अध्यक्ष प्रचण्डले चुनावको फैसला भरतपुरका जनताले गर्ने बताएका छन् । भरतपुरमा सत्ता गठबन्धनको तर्फबाट प्रचण्डकी छोरी रेणु दाहाल मेयरको लागि चुनावी मैदानमा छिन् । उपमेयरमा कांग्रेसबाट चित्रसेन अधिकारी उम्मेदवारमा छन् ।
सभालाई अध्यक्ष प्रचण्डसहित प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसहित शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।