
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले जनकपुर-जयनगर रेल सेवाको सुंयुक्तरुपमा उद्घाटन गरेका छन् ।
नयाँदिल्लीस्थित हैदराबाद हाउसबाट शनिबार देउवा र मोदीले हरियो झन्डा देखाएपछि जयनगरबाट कुर्थाका लागि नेपाली रेल गुडेको हो ।
उद्घाटनसँगै रेल नियमित रूपमा चल्ने भएको छ । भारतको ठूलो जक्सन जयनगरदेखि नेपालको पूर्वपश्चिम राजमार्गको बर्दिवासमा जोडिएको ब्रोडगेज रेल्वेअन्तर्गत उद्घाटनपछि रेलले हाल जयनगरदेखि कुर्थासम्म यात्रु ओसार्ने काम नियमित हुनेछ ।
अनलाइन प्रविधिबाट रेलको टिकट उपलब्ध गराउने व्यवस्था गरिएको छ । २०७७ असोजमा दुवै रेल सेट भारताबाट जनकपुर ल्याइएको थियो । लामो समयसम्म रेल पालले छोपेर राखिएको थियो ।
गत फागुन १ बाट ‘ड्राई रन’ थालिएको हो। २०७६ वैशाख २७ मा भारत सरकारसँग रेल खरिदसम्बन्धी सम्झौता भएको थियो। भारतीय रेलवे कम्पनी कोंकणले दुवै रेल सेट ८४ करोड ६५ लाख रुपैयाँमा तयार गरेर दिएको हो।