
काठमाडौं । तीन दिने भारत भ्रमणमा रहेको प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसामु सिमा विवादको विषय राखेका छन् । प्रधानमन्त्री देउवाले नेपाल भारतबीचको सीमा समस्या दुई पक्षीय संयन्त्र बनाएर समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवाले शनिबार आयोजित संयुक्त पत्रकार सम्मेलनमार्फत आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीलाई यस्तो आग्रह गरेका हुन् । आफूले भारतीय प्रधानमन्त्री मोदीसँगको ‘वान अन वान’ वार्तामा पनि सीमा समस्याको कुरा उठाएको बताएका छन् ।
सर्भे अफ इन्डियाले सन् २०१९ मा कालापानी, लिपुलेक लगायतका नेपाली भूभाग भारततर्फ पारेर नक्सा जारी गरेपछि नेपालले वार्ताको आह्वान गरेको थियो । भारतले त्यसलाई वेवास्ता गर्दै नेपाली भूमिमा कैलाश मानसरोवर जाने सडक उद्घाटन गरेपछि नेपालले लिम्पियाधुरा सहितको नक्सा जारी गरेको थियो ।
भारतले नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा हुँदै तिब्बतको मानसरोवर जाने सडक बनाएपछि दुई देशबीचको कूटनीतिक सम्बन्ध चिसिएको थियो । प्रधानमन्त्री देउवा शुक्रबार भारत भ्रमणमा गएका हुन् । आइतबार स्वदेश फर्किनेछन्।