
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेकपा एमाले माओवादीसँगको एकीकरणपछि नै सकिएको दाबी गरेका छन् ।
आज काठमाडौंमा आयोजना भएको नेकपा समाजवादी निकट समाजवादी प्रेस संगठन नेपालको केन्द्रीय कमिटी प्रथम विस्तारित बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले नेकपा एमाले भनेको इतिहास भएको भन्दै अहिले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको पार्टी दक्षिणपन्थी अवसरवादको गुट भएको आरोप लगाए ।
नयाँ गुटले अहिले पनि देशभर नेकपा एमाले हौँ भनेर भ्रम छर्ने काम गरेको पनि उनको भनाइ छ । नेता खनालले एमालेले आगामी चुनावमा दुई तिहाइ सिट नभएर दुई तीन सिट मात्र ल्याउने दाबी गरे । उनले नेकपा (एस) नेपालको इतिहासमा छोटो समयमै राष्ट्रव्यापी बनेको पनि दाबी गरेका छन् ।