
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेपाली कांग्रेस र एमालेले सबै ठाउँमा जित्छ भन्नु पैसाको धाक भएको आरोप लगाएका छन् ।
आज नेकपा (एकीकृत समाजवादी) इलाम-काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा बोल्दै सम्मानित नेता खनालले यस्तो बताएका हुन् ।
उनले नेपाली कांग्रेस का गठबन्धनसँग मिलेर चुनावमा नजाने पक्षमा रहेका नेताहरुले पैसाको धाक लगाएर पहिलो नम्बरमा आफूलाई निर्वाचनमा हराउने निर्णय गरेको आरोप लगाए । सम्मानित नेता खनालले नेपाली काँग्रेस र नेकपा एमाले पार्टी निर्वाचनमा पैसाको बोरा लिएर जाने पार्टी भएको आरोप समेत लगाएका छन् ।
उनले आफ्नो पार्टीसँग कुनै पैसा नभएको बताउँदै जनता र सर्वहारा वर्गको पार्टीको रुपमा नेकपा एकीकृत समाजवादी रहेको दाबी गरेका छन् । सम्मानित नेता खनालले निर्वाचनका लागि आफ्नो पार्टीले विचार, नीति, प्रतिवद्धताको कुरा अघि सारेर व्यवहारिक रुपले अघि बढ्ने बताएका छन् ।
सम्मानित नेता खनालले देशको परिस्थिति नयाँ मोडतिर अघि बढीरहेको उल्लेख गर्दै नेपालमा उल्टो तरिकाबाट निर्वाचनको प्रक्रिया भइरहेको बताए ।
उनले देशमा निर्वाचनहरु सामान्यतःराष्ट्रिय निर्वाचन पहिला हुनुपर्ने त्यसपछि मात्र प्रदेश र स्थानीय निर्वाचन हुनुपर्ने भन्दै विगतमा ऐन, कानून नबन्दा यी समस्या सिर्जना भएको उल्लेख गरेका छन् । नेता खनालले देशमा अझै पनि शोषण, अन्याय र अत्याचार, समाप्त नभएको दाबी गरेका छन् ।