
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्ककमल दाहाल प्रचण्डले प्रतिक्रान्तिकारीहरूले सत्ता उल्ट्याउन षडयन्त्र गरिरहेका बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक कभर फोटो सेयर गर्दै प्रचण्डले विश्व इतिहासलाई नेपालसँग जोड्दै हरेक क्रान्तिपछि प्रतिक्रान्तिकारीहरू फेरि पुरानै सत्ता उल्ट्याउन भरमग्दुर कोशिस गर्ने बताएका हुन् । अध्यक्ष प्रचण्डले अहिले नेपालमा क्रान्ति र प्रतिक्रान्तिकारीहरूबीच संघर्ष चलिरहेको टिप्पणी समेत गरेका छन् ।
अध्यक्ष प्रचण्डको अफिसियल फेसबुक पेजमा एक कभर फोटो सेयर गर्दै प्रचण्डले लेखेका छन्, ‘विश्व इतिहासमा हरेक क्रान्तिपछि प्रतिक्रान्तिकारीहरू फेरि पुरानै सत्ता उल्ट्याउन भरमग्दुर कोशिस गर्छन् । अहिले नेपालमा पनि क्रान्ति र प्रतिक्रान्तिकारीहरूबीच संघर्ष चलिरहेको छ ।’ अमेरिकी सहयोग परियोजना (एमसिसी) संसदमा टेबल भएपछि सत्ता गठबन्धन धर्मराइरहँदा प्रचण्डले आफूहरूविरुद्ध कैयन षडयन्त्र रचिएको बताएका छन् । उनले भनेका छन्, ‘उनीहरूले कैयन षडयन्त्र रचिरहेका र भ्रम छरिरहेका छन् । तर, हामी ती सबै प्रपञ्चको जालो चिरेर विजयी हुनेछौं ।’
स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा कांग्रेससँगको गठबन्धन जोगाउन माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरूको दौडधुप छन् । भने उता, प्रधानमन्त्री शेरबहादुर देउवा जसरी पनि अब बस्ने संसदबाट एमसिसी पास गराउने रणनीति स्वरूप भेटघाट तीव्र बनाएका छन् ।