
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले झलनाथ खनाल, भीम रावल र देव गुरुङले एमसीसीलाई राष्ट्रघाती भन्ने नैतिक हैसियत नराख्ने टिप्पणी गरेका छन् ।
विगतमा खनाल, रावल र गुरुङ नै सांसद रहेको पार्टी नेकपा नेतृत्वको सरकारले संसदमा दर्ता गराएको प्रस्तावलाई राष्ट्रघाती भन्नुपूर्व आफैंलाई राष्ट्रघाती घोषणा गर्नुपर्ने थापाले बताए ।
‘भीम रावलले पहिले केपी ओली राष्ट्रघाती भन्न सक्नुपर्यो । किनकि ओली नेतृत्वको सरकारले नै एमसीसी संसदमा दर्ता गरेको हो । देव गुरुङजीले प्रचण्ड र झलनाथ खनालले माधवकुमार नेपाललाई राष्ट्रघाती मुर्दावाद भन्न सक्नुपर्यो । अनि बल्ल एमसीसीबारे उहाँहरूले टिप्पणी गर्नुको अर्थ हुन्छ’, थापाले भने ।
उनले विगतमा नेकपा नेतृत्वको सरकारले ल्याएको एमसीसी सम्झौतालाई तत्कालीन नेकपाकै नेताहरुले विरोध गर्न अराजनीतिक भएको बताए ।एमसीसी संसदमा टेबल हुनुले सार्वभौम संसदले निर्णयको अधिकार पाएको भन्दै महामन्त्री थापाले कसैले पनि डबल स्ट्याण्डर्ड देखाउन नहुने बताए ।
‘आधाले विरोध गरेझैं गर्ने आधाले समर्थन गरेझै गर्ने भन्ने हुँदैन । सरकारमा बसेर सरकारले ल्याएको प्रस्तावको विरुद्धमा उभिने भन्नेपनि हुँदैन । अब सबैले डबल स्ट्याण्डर्ड त्याग्नुपर्छ । पक्षमा हुने पक्षतिर विपक्षमा हुने विपक्षतिर लाग्नुपर्छ’, थापाले भने ।उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसमेत एमसीसीको छलफलमा सहभागी हुनु सकरात्मक भएको बताए ।
‘नाराबाजीकै बीच पनि एमालेले छलफलमा भाग लिएको छ । माओवादी, नेमकिपा र जनमोर्चालेपनि एमसीसीबारे छलफल गरेका छन् । अब संसदले आफ्नो प्रक्रिया पुर्याएर निर्णय लिन सहज हुनेछ’, थापाले भने ।
उनले सरकारले ल्याएको प्रस्तावको विपक्षमा हुनेहरुले सरकार छाडनुपर्ने बताए । ‘सरकारमै बसेर सरकारले ल्याएको प्रस्तावको विरोध गर्न मिल्दैन । त्यसका लागि सरकार छाड्नुपर्छ’, थापाको भनाइ छ ।महामन्त्री थापाले तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वकै सरकारले संसदमा दर्ता गरेकोले मतदानको बेलासम्म एमाले एमसीसीका पक्षमा उभिने दाबीसमेत गरे ।