
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा एमसीसी टेबल नहुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीचको वाट टु वान वार्तामा यस्तो सहमती जुटेको हो ।
सत्ता गठबन्धन नै भत्किने खतरा उत्पन्न भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी टेबल गर्ने तयारीबाट ब्याक भएका हुन् । आज एमसीसी टेबल नगर्न आग्रह गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देउवासँग बालुवाटारमा भेट गरेपछि देउवा आजको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल नगर्न सहमत भएका हुन् ।
सत्ता साझेदार दल माओवादी केन्द्रको बुधबार बसेको संसदीय दलको बैठकले संशोधन बिना एमसीसी पारित हुन नसक्ने निर्णय गरेको थियो । जबरजस्ती एमसीसी टेबुल गरिए सरकारबाटै बाहिरिने माओवादीले निष्कर्ष निकालेसँगै प्रधानमन्त्री देउवा ब्याक भएका हुन् ।
संसदीय दलको बैठकपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका थिए । बालुवाटार पुगेर प्रचण्डले संशोधन बिना अहिलेको अवस्थामा एमसीसीका अघि नबढाउन तथा बढाइए सरकारबाट बाहिरिने सम्मको पार्टीको निर्णय सुनाएका थिए । उसो त प्रचण्डले पार्टीको बैठकमा नेकपा एकीकृत समाजवादी पार्टी पनि एमसीसीको पक्षमा नरहेको बताएका थिए ।
एकीकृत समाजवादीले एमसीसीबारे मौनता साँधिरहेका बेला प्रचण्डले पार्टीको बैठकमा यस्तो बताएका हुन् । तथापि बुधबार बिहानसम्म एकीकृत समाजवादी पार्टीको स्पष्ट धारणा बाहिर आइसकेको छैन । सत्ता गठबन्धनमै रहेको जनता समाजवादी पार्टीले भने एमसीसीको पक्षमा मतदान गर्ने दाबी काँग्रेस नेताहरुको छ ।