काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिक नाफाघाटा केही नहेरी अमेरिकी सहायता परियोजना एमसीसी संसदबाट अनुमोदनको कर्तव्य पूरा गरिने बताएका छन् ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा मंगलबार बसेको संसदीय दलको बैठक सम्बोधन गर्दै प्रधानमन्त्रीसमेत रहेका देउवाले एमसीसी पारित गर्न पार्टीले राजनीतिक नाफाघाटाको लेखाजोखा नगर्ने बताएका हुन् ।

‘प्रतिपक्ष र सत्तामा हुँदा नेपाली कांग्रेसले ’डबल स्ट्यान्डर्ड’ राख्दैन’, देउवाले भने, ‘यसको तत्कालीन नाफाघाटाबारे सोच्दै च्युत भयो भने कांग्रेसको छुट्टै परिचय रहँदैन । त्यसैले यसको नाफाघाटा जेसुकै होला कांग्रेसले आफ्नो कर्तव्य पूरा गर्छ ।’उनका अनुसार प्रधानमन्त्री देउवाले एमसीसी अनुमोदनका लागि वर्तमान सरकारले प्रस्ताव लैजाने नभएर पूर्ववर्ती सरकारले दर्ता गरेको प्रस्तावलाई संसदमा टेबलका लागि पहल गर्ने पनि प्रष्ट्याए ।

तत्कालीन नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले २०७६ असार ३० गते एमसीसी अनुमोदनका लागि संसदमा दर्ता गरेका थियो । त्यसअघि २०७५ माघ २५ गते बसेको मन्त्रिपरिषद् बैठकबाट तत्कालीन प्रधानमन्त्री ओलीले एमसीसी पारितका लागि संसदमा प्रस्ताव दर्ता गर्ने निर्णय गरेका थिए ।

बैठकमा प्रधानमन्त्री देउवाले कांग्रेस संसदीय दलको नेताको हैसियतमा पूर्ववर्ती सरकारले संसदमा दर्ता गरेको एमसीसीसम्बन्धी प्रस्ताव टेबलका लागि सभामुख अग्निप्रसाद सापकोटासँग आग्रह गरिसकेको पनि जानकारी गराए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय