७ मंसिर काठमाडौं।  नेकपा एमालेका स्थायी कमिटी सदस्य सुवास नेम्बाङले वरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी दिने बताएका छन्। महासचिव ईश्वर पोखरेलले बरिष्ठ उपाध्यक्षमा दाबी गरिरहेका बेला ओली समूहकै नेता नेम्बाङले पनि वरिष्ठ उपाध्यक्षमा दाबी गर्ने बताएका हुन्। सर्वसम्मत रुपमा नेतृत्व चयन नभए वरिष्ठ उपाध्यका लागि उम्मेद्वारी दिने तयारी नेम्बाङले गरेका हुन्।

अहिले घोषणा गरिसकेको छैन। नेताहरुलाई सर्वसम्मत उपयुक्त प्रक्रिया हो भनेको छु। सर्वसम्मति भएन भने चुनावमा जाने स्थिति भयो भने मैले पनि उत्रिनुपर्ने हुन्छ। त्यतिबेला साथीभाइसँग सल्लाह गरेर म उम्मेद्वारी दिन्छु, उनले भने। वरिष्ठ उपाध्यक्षमा पूर्व माओवादी नेता रामबहादुर थापा बादल र १० बुँदे सहमतिमार्फत एमालेमा क्रियाशील भएका उपाध्यक्ष युवराज ज्ञवालीले पनि दाबी गर्दै आएका छन्। नेम्बाङले भने आफूलाई वरिष्ठ उपाध्यक्षका लागि उम्मेद्वारी दिन सुझाव आएको बताए। उनले अध्यक्ष केपी शर्मा ओलीसँग उम्मेद्वारीको बारेमा छलफल भएको भए पनि केही जवाफ नआएको बताए। ‌ओलीले अहिलेसम्म कुनै पनि नेताहरुलाई पद बाँडफाँडका बारेमा आश्वासन नदिएको नेम्बाङको दाबी छ।

अध्यक्षले त अहिलेसम्म कसैलाई पनि केही भन्नु भएको छैन, उनले भने। ललितपुरको गोदावरीमा भएको एमालेको विधान महाधिवेशनले वरिष्ठ उपाध्यक्षको पद सिर्जना गरेको थियो। उक्त पद महासचिव ईश्वर पोखरेलको लागि सिर्जना गरिएको एमालेभित्र चर्चा छ। दुई कार्यकाल महासचिव भइसकेको पोखरेल वरिष्ठ उपाध्यक्षका बलिया उम्मेद्वार भएको बताइन्छ।

मंसिर १०(१२ गतेसम्म हुने एमालेको राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका लागि ओलीलाई उपाध्यक्ष रावलले टक्कर दिने यसअघि नै घोषणा गरिसकेका छन्। एमाले नेताहरुका अनुसार वरिष्ठ उपाध्यक्षमा रावललाई सर्वसम्मत बनाउने सहमति भए रावलले उम्मेद्वारी फिर्ता लिने छन्। यसबारेमा रावलले भने छलफल गर्नुपर्ने बताएका थिए। नेतृत्व चयनबारे पार्टीमा छलफल नभएपछि आफूले अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेको रावलको भनाई थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय