
काठमाडौं- वीरगंज स् विश्व हिन्दु परिषद् नेपालले वीरगंजमा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईको पुतला दहन गरेको छ। सनातन धर्मविरुद्ध अभिव्यक्ति दिएको भन्दै परिषद्ले भट्टराईको पुतला दहन गरेको हो।
जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष समेत रहेका भट्टराईविरुद्ध वीरगंजमा नाराबाजीसहित जुलुस प्रर्दशन गर्दै उनको पुतला जलाइएको थियो। भारत युपीका मुख्यमन्त्री योगी आदित्यनाथले गंगा नदीमा दुध अर्पण गरी पूजापाठ गरिरहेको विगतको तस्बिरलाई भट्टराईले आफनो ट्विटरमार्फत सेयर गर्दै हिन्दु धर्ममाथि अभद्र टिप्पणी गरेको विरोधमा उनको पुतला दहन गरिएको हो।
वीरगंजको माईस्थान चोकमा भेला भएका हिन्दु युवाहरुले ‘बाबुराम भट्टराई मुर्दावाद’, ‘हिन्दु धर्मलाई अपमान गर्न पाईदैन’, ‘भट्टराईलाई कडा कारबाही गर्’ लगायतको चर्को नारा बाजी गरेका थिए। प्रर्दशनमा सहभागीहरुले नगरपरिक्रममा गरी उनको विरोध गरेका थिए।
कोण सभामा परिषद्का वीरगंज महानगर उपाध्यक्ष कृष्णमोहन सहायले पौराणिक कालदेखि चल्दै आएको सनातन धर्मविरुद्ध बारम्बार आक्रमण गरी हिन्दुहरुको आस्थासँग खेलवाड गरेकोप्रति घोर विरोध जनाउँदै हिन्दुको आस्थासँग खेलवाड गर्नेविरुद्ध अब प्रतिकारमा उत्रिने चेतावनी दिए।