
७ साउन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीका अध्यक्ष केपी शर्मा ओलीप्रति टिप्पणी गरेका छन् । पुष्पलाल स्मृति दिवसको अवसरमा काठमाडौंको चम्पादेवीमा आज आयोजित कार्यक्रममा नेता नेपालले अपमान सहेर बस्न कोहीले पनि नसक्ने भन्दै ओलीको कटाक्ष गरेका हुन् ।
साथै नेता नेपालले पार्टी कसरी अगाडि बढ्छ भनेर हेरिरहेको बताएका छन् । कम्युनिस्ट आन्दोलन सही दिशामा लिएर जाने क्रान्तिकारी पार्टीलाई बलियो बनाउन चाहेको बताए ।
त्यो क्रान्तिकारी पार्टीको स्वरुप लिएर एमाले अगाडि बढोस् भन्ने चाहेको भन्दै उनले त्यो स्वरुपमा अगाडि बढ्छ कि बढ्दैन, पर्खेर हेरिरहेको बताए । नेता नेपालले अघि भने, ‘यस रुपमा अगाडि बढ्छ, सुध्रिन्छ, रुपान्तरण हुन्छ, ठीक छ । कसले आफूले बनाएको घरबाट त्यत्तिकै बाहिर निस्कन चाहन्छ ? तर अपमान सहेर कोही पनि बस्दैन ।’
गलत कुरालाई स्वीकार गरेर शिर निहु¥याएर बस्नु दास हुनु भएको उनले बताए । सबैको मर्यादा राख्नुपर्ने भन्दै नेता नेपालले अरुको अपमान गर्ने मान्छेहरुले समाजको अपमान गर्ने र यसलाई कुसन्तान भनिने भन्दै त्यसलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिएका छन् ।