
काठमाडौं, साउन ७ । नेपाल राष्ट्र बैंकले आफ्नो र नेपालका सबै बैंकहरुको प्रणाली सुरक्षित रहेको स्पष्ट पारेको छ । अपरिचित व्यक्तिबाट फोन र इमेलमार्फत प्रणाली ह्याक गर्ने धम्की दिएपछि राष्ट्र बैंकले यस्तो स्पष्टीकरण दिएको हो । राष्ट्र बैंक र नेपालका बैंकहरुको प्रणाली सुरक्षित रहेको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताउनु भएको हो ।
बैंकले प्रयोग गर्ने फायर वालहरु सुरक्षित र ठिक अवस्थामै पाएको र अन्य बैंकहरुले पनि आफ्नो प्रणाली सुरक्षित रहेको जानकारी केन्द्रीय बैंकलाई गराएको गभर्नर अधिकारीले बताउनु भएको छ । यस्ता धम्कीहरुबाट सचेत रहनुपर्ने भन्दै गभर्नर अधिकारीले यसबाट बिचलित नहुन आग्रह गर्नुभएको छ ।
नेपाल राष्ट्र बैंकसहित चल्तिका १५ वाणिज्य बैंकको प्रणाली ह्याक गरेर पैसा चोर्ने भन्दै बुधबार बेलुकी धम्की आएको थियो । अपरिचत व्यक्तिबाट फोन र इमेलबाट राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल र सूचना अधिकारी नारायण प्रसाद पोख्रेललाई धम्की आएको राष्ट्र बैंकले जनाएको छ ।
बुधबार साँझ अपरिचत व्यक्तिबाट ह्याक गर्ने धम्कीसहित जिमेलमा इमेल आएको नबिल बैंकका कार्यकारी निर्देशक अनिल केशरी शाहले पनि बताउनु भएको छ । ‘मलाई बुधबार साँझ जिमेलमा एउटा इमेल आयो, उक्त इमेलमा नेपालका १५ बैंकहरु ह्याक गर्ने धम्की उल्लेख छ,’ प्रमुख कार्यकारी निर्देशक शाहले भन्नुभयो । उस्तै व्यहोराको इमेल नेपाल राष्ट्र बैंकका अधिकारीलाई पनि आएको जानकारी आफूले पाएको शाहले बताउनु भएको छ ।
अपरिचित इमेलबाट आएको धम्कीपछि बैंकको प्राविधिक पक्षको रिभ्यू गरिरहेको र हालसम्म कुनै समस्या नोटिस नभएको शाहले बताउनु भएको छ । धम्कीबारे नियमक र सम्बन्धित सबैलाई जानकारी गराइएको भन्दै शाहले चोरले पहिल्यै घोषणा गरेर चोरी नगर्ने भन्दै सचेत भने हुनुपर्ने बताउनु भएको हो ।
ह्याकरहरुले पठाएको इमेलमा राष्ट्र बैंक, कुमारी बैंक, नेपाल बैंक, माछापुच्छ्रे बैंक, एनएमबी बैंक, एनआईसी एसिया बैंक, राष्ट्रिय वाणिज्य बैंक, सिटिजन्स इन्टरनेसनल बैंक, बैंक अफ काठमाण्डु, नबिल बैंक, सानिमा बैंक, एभरेस्ट बैंक, हिमालयन बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकको नाम उल्लेख छ । अपरिचत इमेलमा २४ घण्टाभित्र ह्याक गर्ने धम्की दिइएको छ ।
यस्तै विभिन्न १५ बैंकको सिष्टम ह्याक गर्ने धम्की भाइबरमा पठाउनेको खोजी भइरहेको नेपाल राष्ट्र बैंकले बताएको छ । बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलले त्यस्तो धम्की दिनेको पहिचान गर्न आइटी डिपार्टका कर्मचारी खटिसकेको र प्रहरीको सहयोग जरुरत परेमा लिने बताउनु भएको हो । उहाँले ह्याकरले बाजा बजाएर ह्याक नगर्ने पनि बताउनु भएको छ । भाइबरमा आएको मेसेजमा राष्ट्र बैंकसहित १५ बैंकको सिष्टम २४ घन्टाभित्र ह्याक गर्ने धम्की थियो । पोखरेलका अनुसार धम्की पठाउनेलाई पहिचान गरेर कारबाही गरिनेछ । नेपालको बैंक प्रणाली मजबुत रहेको र यस्ता धम्कीबाट डराउनै नपर्ने उहाँले बताउनु भएको छ ।