
विराटनगर । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले अमेरिकी सहयोग परियोजना एमसिसीका बारेमा राष्ट्रिय सहमति बनाउनुपर्ने बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उहाँले एमसीसीका बारेमा सहमति गर्न आवश्यक रहेको बताउनु भएको हो
एमसीसी सम्झौता संविधानभन्दा माथि नहुने भन्दै नेता कोइरालाले यो कुरा जनतालाई बुझाउनुपर्ने बताउनु भयो । अरुण तेस्रोमा विगतमा गल्ती भएको भन्दै उहाँले एमसीसीमा अहिले देखिएको समस्या समाधान गर्नुपर्ने बताउनु भएको छ । नेता कोइरालाले एमसीसीका कारण गठबन्धन परिवर्तन हुनसक्ने सम्भावना पनि रहेको बताउनु भएको छ ।
डा. कोइरालाले सरकार अलोकतान्त्रिक रुपमा अघि बढेको बताउनु भएको छ । सरकार कसरी चलेको छ भन्ने पत्रकारको प्रश्नमा उहाँले प्रतिप्रश्न गर्नुभयोे, ‘सरकार चलेको छ र ?
पाँच जनाको मन्त्रिपरिषदले सरकार चलाउन नसक्ने उहाँले बताउनु भएको छ । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर अलोकतान्त्रिक काम गरेको भन्दै कोइरालाले अभिव्यक्ति स्वतन्त्रता बन्देज लगाउने गरी विज्ञप्ति जारी गर्नु सरकारको अलोकतान्त्रिक काम भएको बताउनु भएको छ ।
नेता कोइरालाले नेपाली कांग्रेसको डडेल्धुरा जिल्लामा भएको वडा अधिवेशनलाई स्वीकार्न नसक्ने बताउनु भएको छ । उहाँले कांग्रेसको इतिहासमा पहिलो पटक प्रहरी प्रशासन लगाएर अधिवेशन गरिएको भन्दै आपत्ति जनाउनु भएको छ । कांग्रेस लोकतान्त्रिक पार्टी भए पनि अलोकतान्त्रिक ढंगले चलेको भन्दै उहाँले यसको समाधानका लागि नेतृत्व नै परिवर्तन गर्नुपर्ने बताउनु भएको हो ।
कोइरालाले १४ औं महाधिवेशनमा संस्थापन पक्षबाट साझा उम्मेदवार बनाएर अघि बढ्ने बताउनु भएको छ ।