असोज २- सरकार सञ्चालनमा पाँच दलीय गठबन्धनबाट सहयोग नपाएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी  एमालेका अध्यक्ष ओलीसँग सम्बन्ध सुधार्न अग्रसर देखिएका छन्। चार जना मन्त्री लिएर दुई महिनादेखि एक्लै सरकार चलाइरहेका देउवा मन्त्रीपरिषद विस्तार, बजेट अनुमोदनजस्ता महत्वपूर्ण विषयमै असफल रहँदै आएका छन्। यही अवस्थामा सत्ता गठबन्धनका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सरकार सञ्चालन सहज बनाउनेतर्फ अग्रसरता नदेखएको भन्दै देउवाले एमाले अध्यक्ष ओलीसँग निकटता बढाउन थालेका हुन्।

 एमसीसी संसदबाट अनुमोदन गर्ने योजनामा सत्ता गठबन्धनका दलबाट साथ नपाएको देउवाको गुनासो छ। गठबन्धनभित्र कांग्रेस एमसीसी संसदबाट तत्कालै अनुमोदन गर्न चाहन्छ भने बाँकी तीन दल– माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा संशोधनपछि मात्रै अगाडि बढाउने अडानमा छन्।

मूलत एमसीसी संसदबाट अनुमोदन गर्ने विषयमा गठबन्धनभित्र कुरा नमिलेपछि देउवा ‘दूत’ खटाएर एमाले अध्यक्ष ओलीसँग सम्बन्ध सुधारतर्फ लागेका हुन्। अवरुद्ध संसद सुचारुका लागि सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक राखे पनि प्रमुख प्रतिपक्षी र त्यसको नेतासँग संवाद गर्न सकिरहेका छैनन्।

प्रचण्डको नामै लिएर ‘एमसीसीको विषयमा राजनीतिक खेलबाड गर्न उद्यत देखिएको’ आरोप लगाए। त्यहीकारण प्रधानमन्त्री देउवामा गठबन्धनप्रति असन्तुष्टि चुलिएको छ एमसीसी परियोजना फिर्ता गए नेपाललाई दूरगामी असर पर्ने सम्भावना रहेको प्रधानमन्त्री देउवानिकट  नेता बताउँछन्।

सत्ता साझेदार दलहरूबीच खटपट भइरहेका बेला राष्ट्रिय महत्वका विषयमा बहुमत जुटाउन कांग्रेसले एमालेको सहयोग खोजिरहेको दुवै दलका नेताहरुको भनाइ छ।

‘कांग्रेस र एमाले मिलेर गए भने एमसीसी पारित हुन्छ। राष्ट्रिय महत्वका विषयमा एक ठाउँमा उभिएर जाऔं भनेर प्रधानमन्त्रीले छलफल अगाडि बढाएको हुन सक्छ,’ ओलीका विश्वासपात्र मानिने एक नेताले  भने।

यस्तै देउवानिकट केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले पनि राष्ट्रिय महत्वका मुद्दाहरूमा एकता प्रदर्शन गर्न प्रतिपक्षी एमालेसँग संवाद अघि बढाइएको प्रतिक्रिया दिए।

कानुनमन्त्री कार्कीले बिहीबार दिउँसो भक्तपुरको बालकोटस्थित निवासमा गएर अध्यक्ष ओलीसँग संवाद गरेका थिए। उक्त संवादबारे उनले शुक्रबार विराटनगर पुगेर पत्रकारहरुसँग बोलेका थिए।

‘संसदमा देखिएको गतिरोध राजनीतिक सहमतिका आधारमा समाधान भएर बजेट कार्यान्वयन हुन्छ,’ विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँगको भेटघाटमा मन्त्री कार्कीले भने, ‘त्यसका लागि विपक्षी दलसँग पनि हामीले संवाद थालेका छौँ।’

केही नेताले त ओलीसँगको संवादमा कांग्रेसले ‘राष्ट्रिय सहमतिको सरकार गठन गरेर सबै दलहरूबीच एकता प्रदर्शन गरेर अगाडि बढ्नुपर्ने प्रस्ताव राखिरहेको’ दाबी गरेका छन्। कार्कीले दुई पटकसम्म ओलीसँग संवाद गरिसकेका छन्।

एमालेका प्रमुख सचेतक विशाल भट्टराईले अध्यक्ष ओली र अर्थमन्त्री कार्कीबीचको भेटलाई स्वाभाविक माने। नेपालमा राजनीतिक संस्कार बसी नसकेका कारण भेटघाटलाई शंकाको दृष्टिकोणबाट हेरिने गरिएको प्रमुख सचेतक भट्टराईको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय