
असोज २,- योङ कम्युनिष्ट लिग वाईसीएल संयोजक सुमन देवकोटाले देशको सार्वभौमसत्ता, स्वाधीनता र अखण्डता रक्षाका लागि वाईसीएल जस्तोसुकै मूल्य चुकाउन तयार रहेको बताएका छन् । उनले मुलुकमा स्थानीय तहदेखि केन्द्रसम्मै भ्रष्टाचार मौलाएको दाबी गर्दै भ्रष्टाचारविरोधी अभियान थाल्ने पनि बताए ।
प्रेस संगठन नेपाल कास्कीको आयोजनामा पोखरामा शनिवार पत्रकार सम्मेलनमा उनले बन्द उद्योग खुलाएर बेरोजगार युवालाई रोजगार दिँदै देशको आर्थिक समृद्धिमा टेवा पुर्याउने तर्फ वाईसीएल अघि बढेको प्रष्ट पारे । उनले युवालाई कानुन निर्माणको तहसम्म पुर्याउन आवश्यक रहेको समेत बताए ।
संविधान रक्षाका लागि माओवादी केन्द्र र कांग्रेस गठबन्धन लगायतका दलहरू आगामी चुनावसम्म नै निरन्तर रहने उनको भनाइ थियो । उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय अभ्यासको खिल्ली उडाउने काम गरेको भन्दै टिप्पणीसमेत गरे ।
उनले ठूलो संघर्षबाट संविधान, संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक सहभागितासहितको सामाजिक न्याय उपलब्धि हासिल गरिएको उल्लेख गर्दै देवकोटाले संविधान बन्धकी राखेर गरिने एमसीसी सम्झौता आफूहरूलाई स्वीकार्य नहुने बताए । उनले देशको मूल्य मान्यताविपरीत जाने र भ्रष्टाचारमा लिप्त हुनेलाई सडकमा ल्याएर कारवाही गर्ने चेतावनी पनि दिए ।
उत्पादनमूलक कार्यमा युवालाई अघि बढाउने बताउँदै उनले हरेक स्थानीय तहमा ५०० युवालाई सामूहिक लगानीमा आकर्षित गर्न बैंक तथा वित्तीय संस्थाबाट बिनाधितो व्याज अनुदान दिनुपर्ने विषय आप्mनो सरकारले सम्बोधन गरेको उनले बताए ।
उनले पोखरा नेपालकै प्रमुख पर्यटकीयस्थल भएको उल्लेख गर्दै गण्डकी प्रदेशमा कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीलाई पर्यटन शिक्षा पाठ्यक्रममै समेटिनुपर्ने बताए । माओवादी केन्द्र आफूहरु सहायक संगठन भएको बताउँदै उनले आगामी चुनावमा माओवादी केन्द्रलाई नम्बर १ पार्टी बनाउन स्पेसल टास्क फोर्स गठन गर्ने योजना पनि सुनाए ।