
झापा २ असोज । दमकस्थित सुकुम्बासी बस्तीमा नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सञ्चालन गरेको कार्यक्रममा एमाले नेता र जनप्रतिनिधिले हस्तक्षेपको गरेका छन् । सुकुम्बासी समस्या र समाधानका विषयमा छलफल गर्न सुकुम्वासी बस्ती पुगेका पार्टीका नेता तथा कार्यकर्तामाथि हस्तक्षेपको प्रयास गरिएको भन्दै नेकपा दमक नगर कमिटीले घटनाको विषयमा शनिबार विज्ञप्ति निकालेर आपत्ति जनाएको छ ।
शुक्रबार दमक नगरपालिका–५ स्थित जलदेवी टोलमा रहेका सुकुम्बासीहरूसँग छलफल गर्दै गर्दा ५ नम्बर वडा अध्यक्ष इन्द्रबहादुर गुरुङ र आफूलाई एमालेनिकट नेता बताउने अम्बिका खनालले अराजनीतिक ढंगबाट गुन्डागर्दी शैलीमा पार्टीको कार्यक्रममा हस्तक्षेप गरेको भन्दै नेकपाले उनीहरूविरुद्ध चेतावनीसहितको विज्ञप्ति जारी गरेको हो ।
नगर इन्चार्ज सुवासद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ’नेपाल कम्युनिस्ट पार्टीले विगतदेखि नै दलाल पुँजीवादी संसदीय व्यवस्थाको विरुद्धमा सङ्घर्ष गरिरहेको कुरा आम जनसमुदायमा जगजाहेर नै छ ।’ यसै सन्दर्भमा पार्टीको घोषित कार्यक्रम अनुसार पार्टीका नेता तथा कार्यकर्ताहरू जनताको माझमा गएर दलाल, भ्रष्टाचारी र माफियाहरूको हातमा रहेको दलाल सरकारको भण्डाफोर गर्दै जनतामा सचेतना कार्यक्रम लिएर जाँदै गर्दा पार्टीको कार्यक्रममाथि हस्तक्षेप गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै जनताको हितविपरीत कसैले भ्रम सिर्जना गर्ने र पार्टीको नीति तथा कार्यक्रममा कसैले हस्तक्षेप गर्छ भने त्यसको खुलेर प्रतिरोध गर्ने विज्ञप्तिमार्फत चेतावनी दिएको छ।
उक्त घटनामा संलग्न व्यक्तिहरू जनताको प्रतिरोधपछि भागेको र आगामी दिनहरूमा पार्टीको नेता कार्यकर्ता तथा जनतामा सम्भावित दुर्घटना हुन आए संलग्न व्यक्तिहरू नै जबाफदेही हुने भनी विज्ञप्तिमा उल्लेख गरिएको छ । यदि पुनः कार्यक्रममा हस्तक्षेप गर्ने प्रयत्न गरेमा पार्टीले त्यसको सशक्त प्रतिरोध गर्नेसमेत चेतावनी दिइएको छ । दिपीनी खोला किनार नजिकैको सरकारीमा जमिनमा १५ सुकुम्वासी घरपरिवार बस्दै आएको छ ।
सुकुम्वासी परिवारलाई त्यहाँबाट हटाउन दमक नगरपालिकाले बारम्बार दबाब दिँदै आएपछि विप्लव कार्यकर्ता त्यहाँ पुगेको नगर इन्चार्ज सुवासले जानकारी दिए । यसअघि पनि दमक नगरपालिकाले ७ नम्बर वडामा रहेको सुकुम्वासी बस्ती हटाउन त्यहाँ डोजर चलाउँदा विवाद उत्पन्न भएको थियो ।