
काठमाडौं १ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेलधुरा जिल्लाको पार्टी अधिवेशनका विषयमा छलफल गर्न पौडेल–कोइराला पक्षलाई बैठकमा बोलाउनु भएको छ ।
पार्टीभित्र चरम अलोकतान्त्रिक गतिविधि बढेको र सत्ताको दुरुपयोग गरेर सभापतिले आफ्नै जिल्लामा वडा अधिवेशन गराएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले कडा विरोध जनाएपछि देउवाले पौडेल–कोइराला समूहमा रहेका नेताहरूलाई बैठकमा बोलाउनु भएको हो । आज दिउँसो ३ बजे देउवाले बालुवाटारमा बैठक राख्नुभएको छ । उहाँले दिउँसो ३ बजे सभापति देउवाले बालुवाटार बोलाउनु भएको हो ।
यसअघिसम्म डडेलधुराको वडा अधिवेशनबारे मौन बसेका देउवाले विवाद उत्कर्षमा जाने संकेत देखिएपछि पौडेल–कोइराला पक्षलाई बालुवाटारमै डाकेर छलफल गर्न लाग्नुभएको हो ।
भदौ २५ गते बिहान देउवासँगको बैठकमा पौडेल पक्षले प्रहरी प्रशासनको उपस्थितिमा अधिवेशन गराए स्वीकार्य नहुने मात्र भनेको थियो । तर, डडेलधुरामा वडा अधिवेशन गरिएपछि पत्रकार सम्मेलन गरेर वडा अधिवेशन नै अस्वीकार गर्ने निर्णयमा पौडेल पक्ष पुग्यो । पौडेल पक्षले सो बारेमा बिहीबार निर्वाचन समितिको ध्यानाकर्षण पनि गराएको छ ।
नेपाली कांग्रेसको ५६ जिल्ला अधिवेशन सकिएको छ । ५७औँ जिल्ला डडेलधुराका विषयले भने महाधिवेशनको पूरै तालिका प्रभावित पारिदिने जोखिम बढेको छ ।