
२९ भदौ, काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले स्थायी कमिटीको बैठक बोलाएको छ । पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार दिउँसो ३ बजे बस्ने गरी बैठक बोलाइएको स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले जानकारी दिएका छन् ।
गजुरेलका अनुसार बैठकमा पार्टीको निर्वाचन निर्देशिका, पछिल्लो समसामयिक राजनीतिक अवस्थाबारे छलफल हुने बताएका छन् । बैठकमा मन्त्रिपरिषद् विस्तार र सदनमा प्रमुख प्रतिपक्ष नेकपा (एमाले)ले गर्दै आएको अवरोध तथा सभामुखमाथिको चुनौतीका विषयमा छलफल हुने बताइएको छ ।
पाँच दलीय गठबन्धनको शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको दुई महिना बित्दा समेत मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । यस्तै, अमेरिकी परियोजना एमसिसीको विषयले गठबन्धनमा समस्या पर्ने देखिएको छ ।