
काठमाडौं २८ भदौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उपद्रो नेतृत्वको सत्ता लिप्साले पार्टीको १४औं महाधिवेशन अनिश्चित बनेको बताउनुभएको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति सिन्धुपाल्चोकले काठमाडौंमा गरेको ‘नीति र नेतृत्व’ विषयक कार्यक्रममा वरिष्ठ नेता पौडेलले नेताको सत्ता लिप्साका कारण कांग्रेस महाधिवेशन अनिश्चित बनेको आरोप लगाउनुभयो ।
पौडेलले लोकतन्त्रलाई असुरक्षित पार्ने काम नेताहरूबाट भएको र त्यस्ता नेताहरूले देशलाई भड्खालोमा हालेको टिप्पणी गर्नुभयो । लोकतन्त्रमाथि प्रहार गर्ने नेताहरू नेपालमा भएको बताउँदै उहाँले कार्यकर्ताले नेताको सही मूल्याङ्कन नगर्दा उपद्रो गर्ने नेताहरूको जन्म भएको बताउनुभयो ।
नेपाली कांग्रेसमा पनि उपद्रो गर्ने नेतृत्व भएको र उनकै कारण पार्टीको महाधिवेशन अनिश्चित बनेको टिप्पणी गर्नुभयो । वरिष्ठ नेता पौडेलले लोकतन्त्रमाथि नेताहरूबाटै खतरा रहेको बताउनुभयो । सत्ता र पावरमा पुगेका नेताहरूले लोकतन्त्र विपरीत काम गर्न थालेको आरोप लगाउँदै उहाँले बलियो पार्टीको बलियो नेता खोज्ने कि बलियो नेताको कमजोर पार्टी बनाउने जिम्मा कार्यकर्ताको हातमा रहेको बताउनुभयो ।
क्रियाशील सदस्यता वितरणमा दादागिरी भएको बताउँदै वरिष्ठ नेता पौडेलले सभापति शेरबहादुर देउवाले प्रहरी प्रशासन लगाएर वडा अधिवेशन गरेको आरोप लगाउनुभयो । उहाँले आफूहरू पार्टीलाई लोकतान्त्रिक बनाउन लागि परेकाले वडा अधिवेशनलाई मान्यता नदिने बताउभुयो । यस्तै पौडेलले प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा तानाशाही व्यवस्था तर्फ उन्मुख भएको बताउनु भएको हो । कार्यक्रममा पौडेलले देउवाले सत्तामा बसेर आफ्नो स्वार्थ र महत्वकांक्षाले पूरा गर्न देशलाई गलत दिशा तर्फ लगेको आरोप समेत लगाउनु भएको छ ।
विवादकाबिच डडेलधुरामा अधिवेशन सम्पन्न गराएपछि देउवाप्रति संस्थापन इतर पक्ष आक्रोशित बनेको छ । त्यसै विषयलाई इंगित गर्दै उनले पार्टी विधान विपरित चलेको बताउनु भएको हो । विश्वभर थरिथरिका नेता भएको भन्दै उहाँले महात्मा गान्धी र हिटलर दुवै नेता भए पनि उनीहरुको चरित्र फरक रहेको बताउनु भएको छ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ’उपद्रो’ भन्दै पौडेलले पार्टी सभापति देउवापनि ट्रम्पकै पथमा अघि बढेको संकेत गर्नुभएको हो ।