भाद्र २४, काठमाडौँ । सत्ता गठबन्धनका नेताहरुबीच मन्त्रिपरिषद् विस्तार, संसद सञ्चालन र पछिल्ला राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको छ । नेताहरुबीच दुई चरण गरेर मन्त्रिपरिषद् विस्तार गर्ने सहमति समेत भएको छ । आज बालुवाटारमा बसेको गठबन्धनको बैठकमा सबै सत्तारुढ पार्टीका नेताहरुको भने सहभागिता थिएन । तर, प्रधानमन्त्री देउवाले बैठकमा आएका नेताहरुसँग गठबन्धन, सरकार र संसद सञ्चालनका विषयमा छलफल गरेका हुन् ।

माधवकुमार नेपाल र १४ जना संघीय सांसदसहितको पद खारेजीको विषयमा एमाले अध्यक्ष केपी ओलीले सर्वोच्च अदालतमा दायर गरेको रिटको टुंगो लाग्नु अघि नै मन्त्रिपरिषद् विस्तार गर्ने नगर्ने भन्ने विषयमा नेताहरुबीच छलफल भएको थियो । सो मुद्दामा अदालतले भदौ २८ गते दुवै पक्षलाई उपस्थित हुन भनेको छ भने आयोगलाई १५ दिनको समय दिएर जवाफ मागेको छ । मुद्दाको किनारा लाग्न अझै केही समय लाग्ने भएपछि नेताहरुले तत्काल एकचरण मन्त्रिपरिषद् विस्तार गर्ने र पछि अर्को चरणमा सरकारलाई पूर्णता दिने तयारी गरेका हुन् ।

सत्ता गठबन्धनको आन्तरिक झमेलाका कारण प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठन भएको ५९ दिन बितिसक्दा पनि मन्त्रिपरिषद्लाई पूणता दिन सकेका छैनन् । बरु मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लगायत विषयलाई लिएर गठबन्धनमै खटपट भने सुरु भइसकेको छ । एमसीसी पास गर्ने विषयले चर्चा पाइरहेको र एमसीसीकै उपाध्यक्ष फातिमा सुमारसहितको टोली नेपाल भ्रमणमा रहेका बेला देउवाले सत्ता गठबन्धनको बैठक बोलाएका थिए । तर, बैठकमा त्यसबारे छलफल नभएको कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले दाबी गरे ।

गठबन्धनको मुख्य घटक कांग्रेस एमसीसी पास गर्नुपर्ने पक्षमा छ । देउवा त्यसैका लागि गृहकार्य गरिरहेका छन् । तर, गठबन्धनकै नेकपा माओवादी केन्द्र, नेकपा (एस) र जनता समाजवादी पार्टी (जसपा)ले भने एमसीसीकाबारेमा प्रष्ट धारणा दिइसकेका छैनन् । अर्को समर्थक राष्ट्रिय जनमोर्चाले एमसीसीका विरुद्ध विरोध प्रदर्शन नै गर्दै आएको छ । बिहीबारको बैठकमा सरकारका मन्त्रीहरुले संसदमा पेश गर्ने विधेयक र अध्यादेशहरुसहितका विषयमा ब्रिफिङ गरेका थिए । गृहमन्त्री बालकृष्ण खाँणले बैठक संघीय संसदको बैठक सञ्चालन र विचाराधीन विधेयक र अध्यादेशहरु प्रस्तुत गर्ने विषयमा केन्द्रित भएको बताए ।

मन्त्री खाँणले बैठकमा एमसीसी र उपाध्यक्ष सुमारको भ्रमणको विषयमा समेत कुराकानी भएको बताए । एमसीसी पास गर्ने विषयमा कांग्रेसले भने प्रष्ट धारणा बनाएर अघि बढेको सहमहामन्त्री प्रकाशसरण महतले बताए । बिहीबारको गठबन्धनको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपाल सहभागी थिए । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव ढिलो गरी पुगेका थिए । सत्तारुढ पाँच दलका सबै नेतासहितको बैठक भने शुक्रबार बिहान बस्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय