
२१ भदौ, काठमाडौं । नेकपा एमाले फुटेसंगै विभिन्न जिल्लाहरुबाट ओली केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेलाई धक्का लागिरहेको छ । एमालेबाट अलग्गिएर नेकपा एकिकृत समाजवादी पार्टी दर्ता गरेका माधवकुमार नेपालको साथमा विभिन्न जिल्लाका सांसदहरु लागिरहेका छन् । उता सुदूरपश्चिम प्रदेशसभामा सबैभन्दा ठूलो दल रहेको नेकपा एमाले अहिले चौथो दल बनेको छ । सुदूरपश्चिम प्रदेशसभामा २५ जना प्रदेशसभा सदस्य रहेकोमा १४ जनाले एकीकृत समाजवादी रोजेपछि एमालेसँग अब सभामुखसहित ११ जना प्रदेशसभा सदस्य मात्र रहेका छन् ।
भने सुदूरपश्चिम प्रदेशमा नेकपा (एकीकृत समाजवादी) पार्टी सबैभन्दा ठूलो दल बनेको छ । आज थप एक प्रदेश सांसदले नेकपा एमाले छाडेर समाजवादीमा सनाखत गरेसँगै एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेशसभामा सबैभन्दा ठूलो दल बनेको हो । सोमबार सांसद माया तामाङ बोहराले माधव नेपाल नेतृत्वको समाजवादी पार्टीमा सनाखत गरेकी हुन् । उनले सनाखत गरेसँगै १४ जना प्रदेश सांसद भएको एकीकृत समाजवादी सबैभन्दा ठूलो दल बनेको छ । तामाङ यसअघि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली समूहमा थिइन् ।
एमालेका तत्कालीन वरिष्ठ नेता माधव नेपाल पक्षीय १७ जना प्रदेश सांसदले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिँदासमेत उनी विपक्षमै थिइन् । यसअघि गत सोमबार १० एमाले सांसदले एकीकृत समाजवादीमा सनाखत गरेका थिए भने आइतबार (हिजो) ३ सांसदले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका थिए। त्योसँगै १३ सांसद पुगेका एकीकृत समाजवादीमा सोमबार (आज) तामाङले सनाखत गरेपछि १४ सांसद पुगेका हुन् ।
प्रदेशसभामा अब एकीकृत समाजवादी पार्टी १४ सांसदसहित पहिलो, नेकपा माओवादी केन्द्र १३ सांसदसहित दोस्रो, नेपाली कांग्रेस १२ सांसदसहित तेस्रो, नेकपा एमाले ११ सांसदसहित चौथो र जनता समाजवादी पार्टी दुई सांसदसहित पाँचौं दल भएको छ । भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारी, आन्तरिक मामिलामन्त्री पूर्णा जोशी र सामाजिक विकासमन्त्री लालबहादुर खड्का, राज्यमन्त्रीहरू चुनकुमारी चौधरी र मनाकुमारी साउद, प्रमुख सचेतक दुर्गाकुमारी कामी, पूर्व–मन्त्री माया भट्ट, पूर्व–राज्यमन्त्री प्रकाश रावल र पूर्व–प्रमुख सचेतक तारा लामा तामाङ, सांसदहरु सुशीला बुढाथोकी, कुलवीर चौधरी, अमर साउद र बलबहादुर सोडारी र माया तामाङ बोहराले एकीकृत समाजवादी रोजेका छन् ।