१७ भदौ, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले दार्चुला घटनाबारे छानविन समितिको प्रतिवेदन अपष्ट भएको बताएको छ । सरकारले घटनालाई थामथुम पार्न र जनताको ध्यान अन्यन्त्र मोड्न खोजेको आशंका बढेको उसले बताएको छ । गत साउन १५ गते भारतीय सीमा सुरक्षा बल (एसएसबी)का जवानले तुइनको तार फुस्काइदिँदा जयसिंह धामी महाकाली नदीमा खसेका थिए ।

घटनाबारे छानविन गर्न बनेको समितिले बुझाएको प्रतिवेदनमा एसएसबीको उपस्थितिमा घटना भएको भनिएको छ । एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बिहीबार विज्ञप्ति जारी गर्दै प्रतिवेदन अस्पष्ट रहेको र सरकार घटनालाई थामथुम गर्ने प्रयासमा लागेको देखिएको बताएका छन् ।

‘आफ्ना नागरिक वेपत्ता पारिएको यति संवेदनशील घटनाका सम्बन्धमा भारतीय पक्षसँग जानकारी लिने, सोधपुछ गर्ने र आपत्ति जनाउने सामान्य औपचारिकता र कूटनीतिक पहल गर्न नसक्ने सरकारले नेपाली जनताको ध्यान मोड्न खोजेको आशंका पैदा भएको छ’ विज्ञप्तिमा भनिएको छ ।

सरकारले बुधबार मात्र हुम्लामा चीनसँग देखिएको सीमा विवादबारे अध्ययन गर्न टोली बनाएको छ । एमालेले त्यसतर्फ संकेत गर्दै जनताको ध्यान मोड्न खोजेको आशंका गरेको हो । सरकारले लाचारी देखाएको भन्दै खेद व्यक्त गरेको एमालेले घटनाको सत्यतथ्य सार्वजनिक गर्न, दोषीलाई करबाही र पीडित परिवारलाई न्याय सुनिश्चित गर्न माग गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय