काठमाडौँ —कांग्रेस नेता कल्याण गुरुङले पार्टीको सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । कांग्रेसका केन्द्रीय सदस्य रहेका ५१ वर्षीय गुरुङ आसन्न महाधिवेशनमा सभापतिका आकांक्षीमध्ये सबैभन्दा कान्छा हुन् ।

‘म आगामी महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिँदै छु, अहिले मेरो मात्रै उम्मेदवारी हुन्छ । केही समयपछि मेरो टिम पनि बन्छ,’ गुरुङले इकान्तिपुरसँग भने । गुरुङले उम्मेदवारी घोषणाका लागि बुधबार दिउँसो दुई बजे पत्रकार सम्मेलन राखेका छन् । ०६४ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्ष भएका गुरुङ पार्टीको १२ औं महाधिवेशनपछि केन्द्रीय कार्यसमितिमा आमन्त्रित सदस्यका रूपमा मनोनीत भएका थिए ।

उनलाई तत्कालीन सभापति सुशील कोइरालाले मनोनीत गरेका थिए । त्यसयता कोइराला परिवारसँग निकट रहेर राजनीति गरिरहेका उनी १३ औं महाधिवेशनमा रामचन्द्र पौडेलको टिमबाट आदिवासी जनजातितर्फ केन्द्रीय सदस्य पदमा निर्वाचित भएका हुन् ।

महाधिवेशनको मिति नजिकिँदै जाँदा कांग्रेसमा नेताहरूले उम्मेदवारी घोषणाको सुरुवात गरिसकेका छन् । यसअघि ४५ वर्षीय नेता गगन थापाले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरिसकेका छन् । सभापति पदमा उपसभापति विमलेन्द्र निधिले पनि उम्मेदवारी घोषणा गरेका छन् ।

सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पनि यसअघि असार ५ मा आफूनिकटहरूसँगको छलफलमा आसन्न महाधिवेशनमा आफू सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका थिए । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहमा पनि आकांक्षी धेरै भएपछि टिमबाट एक जनामात्रै उम्मेदवार बनाउने कसरत चलिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय