१५ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकासहित उपत्यकाका विभिन्न सडक र चोकमा थुप्रिएको फोहोर भोलि विहान ६ बजेबाट उठ्ने भएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी, सडक विभागका महानिर्देशक, प्रहरी वरिष्ठ उपरीक्षकलगायतको बैठकले फोहोर उठाउने निर्णय गरेको हो ।

करिब एक महिनादेखि काठमाडौं उपत्यकाको फोहोर उठ्न सकेको छैन । काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिकासहित नगरपालिकाले सडकको अवस्था बिग्रिएको भन्दै फोहोर उठाउन छाड्दा शहरका सडक, गल्ली, चोक र नदी किनारमा पनि फोहोरका डंगुर छन् ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्याशुन्दर शाक्यले फोहोर व्यवस्थापनका लागि विभिन्न निकायसँग निरन्तर छलफल गरिरहेको पनि जानकारी दिए । सिसडोलमा फोहोर व्यवस्थापनको काम ०६२ सालदेखि हुँदै आएको र त्यसको सबै जिम्मेवारी शहरी विकास मन्त्रालयको भएको भन्दै उनले प्रधानमन्त्री र विभिन्न निकायसँग अपील गरेर फोहोर उठाउने वातावरण बनाइएको बताए । शाक्यले स्थानीयहरुलाई कुनै पनि असर नपर्ने गरी फोहोर व्यवस्थापन गर्ने गरी निरन्तर लागेको जानकारी दिए ।

मेयर शाक्यले फोहोर व्यवस्थापन गर्ने जिम्मेवारी महानगरपालिकाको मात्रै नभई सम्पूर्णको समस्या हो भन्दै त्यसैले सबैतिरबाट सकारात्मक सहयोगको अपेक्षा गरेको बताए । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजालले काठमाडौं महानगरपालिकाका प्रमुखको संयोजकत्वमा बसेको बैठकमा सकारात्मक छलफल भई फोहोर उठाउने निर्णय भएको जानकारी दिए । उनले त्यहाँ जाने बाटो सडक विभागले काठमाडौं महानगरपालिकासँग समन्वय गरेर बाटोको तत्काल व्यवस्थापन गर्ने दोस्रो निर्णय भएको जानकारी दिए ।

पराजुलीले स्थानीय अवरोध भए बल प्रयोग गरेर भए पनि फोहोर व्यवस्थापन गर्ने जानकारी दिए । काठमाडौँका प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले पनि सकेसम्म शान्तिसुरक्षा कायम गर्दै फोहोर व्यवस्थापन गर्ने र नभए बल प्रयोग गर्ने जानकारी दिए । बैठकमा सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले महानगरपालिकासँग समन्वय गरेर अघि बढ्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय