
१५ भदौ,काठमाडौं । पछिल्लो समय विभिन्न राजनीतिक दलहरु फुट्ने लहर नै सुरु भएको छ । देउवा सरकारले ल्याएको दल विभाजनको अध्यादेशपछि दुई पार्टी एमाले र जनता समाजवादी फुटिसकेका छन् । भने यता विवेकशील साझाले पनि फुटको संकेत दिएको छ । उक्त पार्टीको उच्च नेतृत्वमा नै मतभेद सुरु भएको छ । पार्टीका अध्यक्ष र संयोजकले केन्द्रीय कमिटी अलगअलग बैठक बोलाएका छन् । जसले गर्दा उक्त पार्टीभित्र पनि फाटो आएको प्रस्ट देख्न सकिन्छ । पछिल्लो समय मूलधारका राजनीतिक दलमा फाटो, मतभिन्नता, गुट र फुटका श्रृंखलाले तीव्रता पाइरहेको समय विवेकशील साझा समेत यही समस्या देखिएको छ ।
पार्टीका अध्यक्ष रविन्द्र मिश्रले केही समयअघि राजतन्त्र र धर्मनिरपेक्षतामा जनमत संग्रहको प्रस्ताव तथा संघीयता खारेजी लगायतका प्रस्ताव अघि सारेपछि उक्त पार्टीमा वैचारिक मतभिन्नता रहँदै आएको छ । यसै क्रममा बिहीबारका लागि अध्यक्ष मिश्रले एकतर्फीरुपमा केन्द्रीय कमिटी बैठक बोलाएका छन् । उता असन्तुष्ट समूहको नेतृत्व गर्दै संयोजक मिलन पाण्डेले अलग्गै केन्द्रीय कमिटी बैठक बोलाएका छन् ।
अध्यक्षले एकतर्फी रुपमा बोलाएको बैठक एकताको मर्मविपरीत रहेको संयोजकको तर्क थियो । उनले बैठक रोक्न माग गरे पनि अध्यक्ष मिश्रले भने संयोजकको सहमतिबिनै बैठक बोलाएको बताइएको छ । मंगलबार केन्द्रीय सदस्यहरुलाई इमेलमार्फत अध्यक्ष मिश्रले बैठक आह्वान गरेपछि संयोजक पाण्डेले पनि बिहीबारकै लागि अलग्गै बैठक आह्वान गरेका हुन् ।
पार्टी विधानको दफा ६१ (३) को अधिकार प्रयोग गर्दै संयोजक पाण्डेले बैठक बोलाएको बताएका छन् । उक्त बैठकमा न्याय तथा सुशासन आयोग गठन गर्ने, बैठक सञ्चालन कार्यविधि पारित गर्ने र पार्टीमा देखिएको वैचारिक विचलन तथा आगामी कार्यदिशाबारे छलफल हुने बताइएको छ । पार्टीको विधानको दफा २० (१०) मा भने केन्द्रीय अध्यक्ष र केन्द्रीय संयोजकको सहमतिमा केन्द्रीय कमिटीको बैठक बोलाउने एवं एजेण्डा तय गरिने उल्लेख रहेको समेत पाण्डले जानकारी दिए ।