
१४ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनालले आफूले एमाले फुटाएको नभई विद्रोह गरेको बताउनु भएको छ । नवौं महाधिवेशनपछि अहंकारी गुटले एमालेको नेतृत्व कब्जा गरेको र अध्यक्ष ओलीले पार्टीलाई दक्षिणपन्थी अवसरवाद, अहंकारवाद, व्यक्तिवादमा लगेकाले विद्रोह गर्नु परेको उहाँले बताउनु भएको हो ।
भारतमा उपचार गरेर आज स्वदेश फर्किएका पूर्व प्रधानमन्त्री खनालले आफ्ना जीवन नाफाको भएको बताउनु भएको छ । ७१ वर्ष लागिसकेकाले अब कार्यकारी पदमा दाबी नगर्ने र देश, रा्ष्ट्रियता र कम्युनिस्ट आन्दोलनको विकास र विस्तारमा काम गर्ने उहाँले बताउनु भएको हो ।
आज अपरान्ह काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरण गरेका पूर्व प्रधानमन्त्री खनाललाई स्वागत गर्न नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, बेदुराम भुसाल, मुकुन्द न्यौपाने, प्रमेश हमाल, राजेन्द्र पाण्डेलगायतका नेताहरु पुगेका थिए ।
विमानस्थलबाट बाहिरिँदा खनाल ह्वील चेयरमा बस्नुभएको थियो । विमानस्थलमा खनालको तर्फबाट एकीकृत समाजवादीका नेता प्रमेश हमालले विज्ञप्ति वाचन गरेका थिए । पछि खनालले ह्वीलचेयरमै बसेर सम्बोधन गर्नुभएको थियो । मिर्गौलामा समस्या देखिएपछि खनाल असार २ गते उपचारका लागि दिल्ली जानुभएको थियो । उहाँ करिब साढे २ महिनापछि स्वदेश फर्किनुभएको हो ।
आफ्नो उपचारमा सहयोग गरेकामा खनालले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेल, हालका प्रधानमन्त्री शेरबहादुर देउवा, माधवकुमार नेपाल र सत्तारुढ गठबन्धनका नेताहरुलाई धन्यवाद दिनुभएको छ । खनालले आफूलाई पत्नीकी दिदीकी छोरी मेरिना चित्रकारले मिर्गौला दिएको जानकारी पनि दिए । मिर्गौला प्रत्यारोपणपछि आफूले पहिले भन्दा पनि ताजा महसुस गरेको खनालले बताउनु भयो ।