
१४ भदौ, काठमाडौं । भदौ २० गतेदेखि उपत्यकाका यातायात कार्यालयहरूले सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को लिखित र प्रयोगात्मक परीक्षा सञ्चालन गर्ने भएका छन् । उपत्यका यातायात कार्यायल एकान्तकुना र सुकेधाराले २० गतेदेखि लिखित र प्रयोगात्मक परीक्षा सञ्चालन गर्न लागेका हुन् ।
अन्य यातायात कार्यालयहरूले पनि तयारी गरिसकेको यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुसालले जानकारी दिए । उनका अनुसार हाल प्रदेश सरकारअन्तर्गत यातायात कार्यालयहरू सञ्चालन भइरहेका छन्। प्रदेश सरकारको अनुरोधपछि यातायात कार्यालयहरूले लाइसेन्सको लिखित र प्रयोगात्मक परीक्षा सुरु गर्ने भएका हुन् ।
विभागले स्वास्थ्य मापदण्ड अपनाएर परीक्षाहरू सञ्चालन गर्न निर्देशन दिएको छ । हाल देशभर २१ यातायात कार्यालय छन् । सबै कार्यालयले १० दिनभित्र ट्रायल र लिखित परीक्षा सञ्चालन गर्नेछन् । कोरोना संक्रमण बढेपछि गत वैशाख १६ गतेबाट देशभरका यातायात कार्यालयले लाइसेन्स परीक्षा बन्द गरेका थिए ।
यसपटकका लागि आफ्नै सवारीसाधन प्रयोग गरेर पनि ट्रायल दिन पाइनेछ । कोरोना संक्रमणलाई ध्यानमा राख्दै यातायात व्यवस्था विभागले आफ्नै सवारीसाधन प्रयोग गरी ट्रायल दिन पाउने नियम ल्याएको हो ।
चारपांग्रे, मोटरसाइकल तथा स्कुटरको हकमा दर्ता, नवीकरण र ब्लुक चाहिनेछ । कम्तीमा ९५ सिसीको इन्जिन भएको स्कुटर र मोटरसाइकलले मात्रै ट्रायल दिन पाइनेछ । तर, मोडिफाई गरेको सवारीसाधन लैजान पाइनेछैन । कार र जिपको हकमा कम्तीमा ७५० सिसी इन्जिनको सवारीले मात्रै ट्रायल दिन पाइनेछ ।