
१४ भदौ, काठमाडौं । अफगानिस्तानलाई आफ्नो कब्जामा लिएको तालिबानले आइतबार अमेरिकाले काबुलमा गरेको ड्रोन आक्रमण गैर-कानुनी भएको बताएको छ । चिनियाँ सरकारी टेलिभिजन सीजीटीएनसँगको कुराकानीमा तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले तालिबानलाई कुनै सूचना नै नदिई अमेरिकी सेनाले उक्त ड्रोन आक्रमण गरेको बताएका छन् । अर्को मुलुकमा सूचना नै नदिई आक्रमण गर्नु गैर-कानुनी भएको उनको भनाइ छ ।
अमेरिकाले आइतबार गरेको ड्रोन आक्रमणमा काबुल एयरपोर्टमा आत्मघाती आक्रमण गर्न आइरहेका आक्रमणकारीको मृत्यु भएको बताएको छ । स्थानीय सञ्चारमाध्यमले भने अमेरिकाको उक्त आक्रमणमा नौ जनाको आम नागरिकको मृत्यु भएको बताएका छन् ।
अफगानिस्तानको टोलो न्युजका अनुसार उक्त आक्रमणमा एक अफगानी सेनाका सैनिक, दुई अनुवादक र एक व्यापारीका साथै चार बालबालिकाको पनि मृत्यु भएको छ । अमेरिकी सञ्चारमाध्यम सीएनएनले पनि अमेरिकाको ड्रोन आक्रमणमा आम मानिसको मृत्यु भएको पुष्टि गरेको छ ।