
१२ भदौ, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीको संविधान र लोकतन्त्रविरोधी शक्तिहरुसँग साँठगाँठ रहेको बताउनुभएको छ ।
पेशागत महासंघ वागमती प्रदेश कमिटीद्धारा आज आयोजित ललितपुर जिल्लास्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीको नेतृत्वमा दरबारीया शक्तिहरु एकजुट भएको टिप्पणी गर्नुभएको हो । ओलीको साथमा दरबारीय शक्तिहरुसँगै विदेशपरस्त, देशलाई टुक्रयाउँन चाहने, दक्षिणपन्थी, अवसरवादी शक्तिहरु एकताबद्ध भएको बताउनुभयो ।
देशलाई विभाजन गर्ने शक्तिहरुको सहयोगमा ओलीले संविधान र लोकतन्त्रको विरोध गर्दै दुई–दुई पटक प्रतिनिधिसभा विघटन गरेको अध्यक्ष नेपालले उल्लेख गर्नुभयो । तर संविधान र लोकतन्त्रको रक्षाका लागि ओलीको असंवैधानिक कदमको आफूहरले विरोध गर्दै आएको बताउदै नेपालले ओली प्रतिगमनको कदमबाट पछि नहट्ने र गरिएको सहमति कार्यान्वयन नगर्ने अडानमा रहेपछि अलग अलग बाटो समात्नुको विकल्प नभएको टिप्पणी गर्नुभयो ।
यस्तै नेपालले एक कार्यकाल भन्दा बढी अध्यक्ष पदमा नबस्ने घोषणा गर्नुभएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले जसरी पनि कुर्सीमा बस्न नखोज्ने बताउनु भएको हो । अध्यक्ष नेपालले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई कटाक्ष गर्दै भने, “यो अरुको जस्तो नक्कली घोषणा होइन भन्नुभयो ।
अन्य पार्टीमा जस्तो वर्षौवर्ष एउटै व्यक्तिले नेतृत्वमा बस्नुपर्ने अवस्था नयाँ पार्टीमा अन्त्य हुने उहाँको भनाइ थियो । उनले एमालेमा भएका कमिकमजोरी एकीकृत समाजवादीमा नदोहोरिने बताउनु भएको छ ।
यससँगै पार्टीमा सामुहिक नेतृत्व प्रणालीलाई अबलम्बन गरिने नेपालको भनाइ थियो । त्यसमा पनि युवालाई प्राथमिकतामा राखिने उहाँले बताउनु भएको हो । उहाँले एमाले बस्ने कि एकीकृत समाजवादीमा लाग्ने भन्ने दोधारमा नरहने नेता–कार्यकर्तालाई आग्रह गर्नुभयो । नेपालले एमाले अध्यक्ष ओलीलाई अझै पनि सच्चिन आग्रह गर्नुभएको छ ।