
१२ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहितका नेताले अर्को पार्टी गठन गर्दैमा केही फरक नपर्ने बताउनु भएको छ ।
आज युथफोर्सले आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयोे ‘एक दुई पात पहेँलिएर खस्दैमा रुखलाई केही फरक पर्दैन । रुखमा नयाँ नयाँ पालुवा पलाउँदैछन् । नयाँ नयाँ हाँगा हाल्दैछन् ।’अध्यक्ष ओलीले माधव नेपालले गठन गरेको नेकपा एकीकृत समाजवादी पार्टीले अरु पार्टीसँग मोर्चाबन्दी गर्ने आफूले सुनेको भन्दै एमालेसँग एक्लै लड्न सक्दिन भन्ने निश्ष्कर्षमा पुगेको टिप्पणी गर्नुभयोे ।
उहाँले एमालेलाई षड्यन्त्रपूर्वक सरकारबाट हटाइएको भन्दै अब आउने चुनावमा सबै षड्यन्त्रको हिसाब लिने बताउनु भएको छ । ‘अब कुनै पनि निर्वाचन क्षेत्रमा अरुलाई जित्न दिँदैनौं’ ओलीले भन्नुभयोे । यस्तै ओलीले माधवकुमार नेपालले सूर्य चिन्हलाई धक्का दिएको आरोप लगाउनु भएको छ । कार्यक्रममा उहाँले सूर्य चिन्हलाई धक्का दिएर हसिंया हतौडालाई साथ दिएको बताउनु भएको हो ।
ओलीले महासागरको जस्तो पार्टीलाई छोडेर प्रतिक्रियावादीसँग मिलेर पार्टीलाई ध्वस्त पार्न माधव नेपाललागेको बताउनु भएके छ । उहाँले सम्झाउन बुझाउन खोज्दा पनि थाकिसकेको बताउनु भयो । ओलीले परमादेशबाट सरकार बनाउँदैमा क्रान्ति गरेको भ्रममा सत्तारुढ गठबन्धनका नेता परेको टिप्पणी गर्नुभएको छ । उनले नेकपा एमालेले देशको दिशानिर्देश गर्ने पार्टी भएको बताउनु भएको छ ।
उहाँले जनादेशबाट आफ्नो सरकार नहटेको भन्दै जालझेलबाट हटाइएको दाबी गर्नुभएको छ । उहाँले विचार नै नभएको पार्टी सरकारमा रहेको भन्दै चुनाबबाट देखाउनुपर्ने बताउनु भएको छ ।